वुहानका अस्पतालमा कोरोनाका विरामी सकिएको चीनको घोषणा |
कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ ।
वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट शुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ । शुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए ।
गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड(१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो । यसैगरी वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए । उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ ।
भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो । चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर यही हो ।
चिनियाँ सरकारले यसै महिनाको शुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ ।
चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ । स्थानिय संक्रमित शून्यतीर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ ।
त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र तीनमा पनि ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ ।
यस्तै बाँकी ६ लाई स्थानिय स्तरमा संक्रमण भएको उनीहरूले बताएका छन् । शनिबार त्यहाँ कोरोनाका कारण एउटा पनि मृत्यु नभएको चीनको भनाइ छ ।
यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन् । त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ ।
आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ । ती घोषणाहरू सार्वजनिक स्वास्थ्यलाई अझ राम्रो बनाउन र नागरिकहरूलाई ’असभ्य’ व्यवहार गर्नबाट रोक्न लक्षित छ ।
ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ । यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ । यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ ।
शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ । जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ ।



