बुढानिलकण्ठ नगरपालिकाले लकडाउन उल्लंघन गर्नेलाई खादा ओढाउन थाल्यो |
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १०ले लकडाउन उल्लंघन गर्नेलाई खादा ओढाउन थालेको छ । बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले शनिबारदेखि खादा ओढाउन थालेको हो ।
‘सम्झाइबुझाइ गरेर पनि नभएपछि अब शरम होस्, गल्ती महसुस होस् भनेर हामीले त्यस्तो गर्न थालेका हौं,’ वडाध्यक्ष नवराज भट्टराइले भने ।
लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटिएका छन् । त्यस्तै कार्यालयले जनचेतना फैलाउन फ्लेक्सहरू पढ्न लगाउने तयारी समेत गरेको उनले बताए ।
‘हामीले आज वा भोलिदेखि पोस्टरहरू तयारी गर्दैछौं,’ उनले भने, ‘लकडाउन उल्लंघन गर्नेलाई पोस्टर देखाउने र पढ्न लगाउने तयारी समेत थालेका छौं ।’
नगरपालिकाले डेढ सय भन्दा बढी स्वयंमसेवकहरू खटाएको मेयर उद्दवप्रसाद खरेलले जानकारी दिए । ‘हामीले मान्छेहरूलाई धान्न मुस्किल परिसक्यो,’ उनले भने, ‘हामीले ठाँउठाँउमा खटाएका छौं ।’


