कोरोनाबाट अमेरिकामा मर्नेको संख्या ३५ हजार नाघ्यो, ७ लाख बढी संक्रमित |
कोरोना भाइरसबाट मर्नेको संख्या शुक्रबार अमेरिकामा ३५ हजार नाघेको छ । त्यहाँ चार दिनयता लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेका छन् ।
रोयटर्सको पछिल्लो आकँडा अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ४ सय ७९ पुगेको छ ।
शुक्रबार सबैभन्दा बढी मृत्यु क्यालिफोर्निया राज्यमा भएको छ । त्यहाँ एक हजार जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमित संख्या ७ लाख नाघेको छ । बिहीबार एकैदिन अमेरिकामा ३१ हजार ४ सय २५ नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा एकैदिन सबैभन्दा बढी संक्रमित अप्रिल १० मा भेटिएका थिए । उक्त दिन ३५ हजार ७ सय १५ जना संक्रमित भेटिएका थिए ।
अमेरिकाभर संक्रमण र मृत्युदर असमान छ । न्यू योर्क जस्ता घना आवादी भएका शहरमा संक्रमणको असर धेरै छ । अमेरिकाका आधा संक्रमित र मृतक न्यू योर्क राज्यबाट रहेका छन् ।
अमेरिकाका ४२ राज्यले नागरिकहरूलाई घरैभित्र बस्न दिएको आदेशले व्यवसायसँगै मानिसहरूको दैनिकी चौपट पारेको छ । यसले गर्दा केही मानिसहरू सडकमा ओर्लिएर राज्यका गभर्नरहरूलाई जारी प्रतिबन्धका बारेमा पुनːविचार गर्ने भन्दै प्रदर्शन गर्न थालिसकेका छन् ।



