लकडाउन उल्लंघन गर्ने बढेपछि भैरहवामा सेना शुरु गर्यो गस्ती |
काठमाडौं । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ । प्रहरीसँगै सेनाले लकडाउनलाई कडाइ गरेका छन् । संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भैरहवामा पसल संचालन हुने गरेको र बिना काम सडकमा हिँड्नेहरु बढेकाले गस्ती बढाउन आग्रह गरिएको जानकारी दिए ।
सडकमा खटाइएका सेनाले अत्यावश्यक कामका लागि हिँडेका सवारीसाधनबाहेक सडकमा हिँड्ने अरुलाई कडाइ गरेको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पन्थले सीमा क्षेत्र संवेदनशील रहेका कारण भारतबाट समेत लुकिछिपी आउने क्रम नरोकिएकाले नेपाली सेनाको गस्ती बढाइएको जानकारी दिए ।
लकडाउन शुरू भएपछि नै सडक तथा बजारमा प्रहरी परिचालन गरिए पनि भैरहवामा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।
नेपाली सेनाले गस्ती बढाएपछि भने लकडाउन कार्यान्वयन हुने अपेक्षा गरिएको छ । नेपाली सेनाले भैरहवाका मुख्य चोकहरुमा नियमित गस्ती गर्ने बताइएको छ ।
भैरहवादेखि १०र१५ किलोमिटरको दुरीमै रहेको भारतीय बजार कोल्हुई लगायतका क्षेत्रमा कोरोना संक्रमित फेला परे पनि खुल्ला सीमानाका कारण खेतको बाटो हुँदै आवतजावत गर्ने क्रम रोकिएको छैन । जसले गर्दा भैरहवालाई कोरोना संक्रमणको जोखिममा लिइन्छ ।
सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रमा आफ्नो सुरक्षा तैनाथीलाई बढाउने गरेको छ । बिहीबार विहान मर्निङवाकमा निस्किएका स्थानीयलाई शसस्त्र प्रहरीले सडकमै ‘पुसअप’ गराएर छोडेको थियो ।



