नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण, विदेशबाट आएका देवरबाट भाउजुमा सर्यो कोरोना |
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् ।
संक्रमित ती महिला यसअगाडि दुबईबाट फर्केका संक्रमित युवकका भाउजु हुन् । शनिबार महिला सबै परिवारका सदस्यसँगै घरमै बसिरहेकी थिइन् । त्यत्तिकै उनका श्रीमानलाई अस्पतालबाट फोन आयो ।
’अस्पतालबाट मेरी श्रीमतीलाई पनि संक्रमण देखियो भनेर खबर गर्नुभयो। त्यसको एकैछिनमा एम्बुलेन्स घर आइपुग्यो,’ श्रीमानले भने ।
उनले श्रीमतीमा कुनै पनि लक्षण नदेखिएको बताए ।
उनले भने, ’खै त्यस्तो ज्वरो, रूघाखोकी केही पनि देखिएको थिएन। कसरी त्यस्तो भयो ।’
त्यसपछि एम्बुलेन्सबाट महिललाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगियो। जहाँ उनका देवर यस अगाडि नै भर्ना भएका छन् ।
चैत ७ गते दुबईबाट नेपाल आएका धनगढीका युवकलाई संक्रमण देखिएपछि उनका परिवार सबैलाई रंगशालामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो। तर परिवारमा केटाकेटी पनि भएको र पशु चौपया हेर्नसमेत गाह्रो भएको भन्दै बुवाले घर जान दिन आग्रह गरे। तीन दिनपछि उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न दिइयो।
घरमा सबैजना आ(आफ्नै कोठामा बसिरहेको थिए। तीन दिनअघि मात्र परिवारका सबै ९ सदस्यको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको थियो। बाँकी आठ जनाको नतिजा आउँन बाँकी रहेको श्रीमानले बताए।
यो नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेको पहिलो घटना पनि हो। यसअगाडि सबै विदेशबाट आयातिक संक्रमण रहे पनि उनीहरूको परिवार वा अन्य सदस्यमा संक्रमण देखिएको छैन।
आजै भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षिय युवक र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षिय पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या नौं पुगेको छ। जसमा एकजना निको भएर घरमा छन् भने बाँकी आठजना विभिन्न अस्पतालमा छन्।


