अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार पार |
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो नागरिकलाई मास्क र स्कार्फ लगाउन अपिल गरेको छ । संक्रमण दर उच्च बनेसँगै अमेरिकाले सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई अपिल गरेको हो ।
यद्यपि, यो नियम बाध्यकारी भने छैन । बीबीसीका अनुसार, राष्ट्रपति ट्रम्पले मास्क र स्कार्फ अनिवार्य नभएको बताएका छन् ।


