फागुन २५ देखि पर्यटन तथा सांस्कृतिक महोत्सव |
काठमाडौँ । छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव – २०७६ हुने भएको छ । आँबुखैरेनी गाउँपालिका – ५ लाब्दी तनहुँमा फागुन २५ देखि २७ गतेसम्म उक्त महोत्सव हुने भएको हो ।
कार्यक्रममा महोत्सवका निर्देशक हरि सिङ गुरुङले महोत्सव आबू खैरेनी गाउँपालिकाको संरक्षकत्वमा छिम्केश्वोरी पर्यटन विकाश समितीको आयोजनामा हुन लागेको बताए ।
उनले आन्तरिक पर्यटकको उल्लेखनीय वृद्धि हुँदै गरेको तनहुँ जिल्लाका विभिन्न पर्यटकीयस्थलहरु मध्ये आँबुखैरेनी गापा अन्तर्गतको छिम्केश्वरी क्षेत्र पनि एक महत्वपूर्ण गन्तव्य भएको बताए ।
यस्तै छिम्केश्वरी क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय समुदायलाई प्रोत्सहान, छिम्केश्वरीमाईको मन्दिर निर्माण, संरक्षण एवं प्रवद्र्धनका लागि जनचेतना अभिवृद्धि गर्नु , गण्डकी प्रदेशको भ्रमण वर्ष सन् २०१९–२०२२ र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा छिम्केश्वरी सप्तदेवी दर्शन, छिम्केश्वरी उकाली खुला दौड प्रतियोगिता, छ्रिम्केश्वरी पदयात्रा, डाउनहील माउण्टेन वाइक प्रतियोगिता, होमस्टे मितेरी दौड प्रतियोगिता, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, फागु र होमस्टे विशेष कार्यक्रम, लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रम, कृषि तथा वन्य पैदावरको प्रदर्शनी, स्थानीय खानाका परिकार, स्थानीय परम्परागत खेल, फोटोग्राफी लगायतमा मुख्य आर्कषकको केन्द्रविन्दु रहेको आयोजकले जानकारी दिएको छ ।


