विद्युत वितरण प्रणाली विस्तार गर्न युरोपेली लगानी बैङ्कसँग साढे १२ अर्ब ऋण |
 
                                                                    
                                                                
	काठमाडौं । विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि युरोपेली लगानी बैङ्क (इआबी)ले करिब १२ अर्ब ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायता दिने भएको छ ।
	गत माघ २९ गते सरकारको तर्फबाट अर्थ मन्त्रालयका अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, यूरोपेली लगानी बैंकका तर्फबाट बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
	प्रदेश ५, कर्णाली र र सुदूरपश्चिममा  विद्युत पहुँच  तथा आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने उद्देश्यले बैङ्कले उक्त ऋण लिन लागेको हो ।
	नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३ र ११ किलो भोल्टका सवस्टेसनहरु तथा आपूर्ति लाईनहरु निर्माण गर्ने गरिने छ। साथै वितरण ट्रान्सफर्मरहरु, न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन् ।
	प्रस्तुत आयोजनामा नपुग हुने रकममध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार लगानी बैंक(एआइबी)बाट लिन छलफल भइरहेको छ । 
	उक्त ऋण लिएर विद्युत प्राधिकरणलाई दिइने अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए । 
	विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

 
                                                                     
                                                                    