प्रधानमन्त्रीको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, निर्यात र जुट उद्योगका अवरोध तत्काल हटाउन माग
विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपालको व्यापार, पारवहन र लगानीका क्षेत्रमा बलियो जग बसालेको भन्दै स्वागत गरेको छ। मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा भएका सकारात्मक सहमतिहरूले दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ उत्साह थपेको संघको ठहर छ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष अनिल कुमार साहले भ्रमणका मुख्य उपलब्धि र निजी क्षेत्रका अपेक्षाबारे संघको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो। भारतको कोलकाता र विशाखापट्टनम बाहेक गुजरातको दीनदयाल र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाइने व्यवस्थाले नेपालको समुद्रपार व्यापारको पारवहन दूरी छोट्याउने, ढुवानी खर्च घटाउने र समयको बचत हुने संघको विश्वास छ।
त्यसैगरी, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन भारत सहमत हुनु नेपालको एक दशकदेखिको पर्खाइ पूरा भएको अध्यक्ष साहले बताउनुभयो। यस सहमतिबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज हुने, हवाई भाडा सस्तो पर्ने र पर्यटन व्यवसायीलाई ठूलो राहत मिल्ने संघले अपेक्षा लिएको छ।
कञ्चनपुरको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकीको काम छिटो अघि बढाइनुले सीमा नाकामा मालवाहक गाडी रोकिने समस्या हटाई आयात–निर्यातलाई सहज बनाउने संघको धारणा छ। भारतले घोषणा गरेको रु. २४ हजार करोडको सहयोग प्याकेजको ठूलो हिस्सा ऊर्जा क्षेत्रमा खर्च हुने, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा प्रसारण लाइन निर्माणको सहमतिले दीर्घकालीन रूपमा नेपाली उद्योगहरूलाई वर्षैभरि निर्बाध विद्युत् आपूर्ति हुने विश्वास व्यक्त गरिएको छ। साथै, अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन (दोस्रो चरण) को उद्घाटन र झापा–सिलिगुडीमा पेट्रोलियम टर्मिनलको शिलान्यासले इन्धन अभाव टार्ने तथा ढुवानी खर्च जोगाई बजारभाउ नियन्त्रणमा सघाउ पुग्ने संघले जनाएको छ।
अयोध्या र जनकपुर जोड्ने सरयु–कमला एक्सप्रेस रेल सेवा सुरु हुनुले नेपाललाई रामायण सर्किटमा आबद्ध गर्ने लामो समयदेखिको माग पूरा भएको संघको ठहर छ। रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनुले पर्यटन क्षेत्रका साथै भविष्यमा सस्तो ढुवानीको बाटोसमेत खुल्ने सम्भावना देखिएको छ। यसका अतिरिक्त चितवनमा कृषि–औद्योगिक पार्क, नेपालमा आईआईटी संस्थान र स्टार्टअप हब खोल्ने सहमतिले कृषि प्रशोधन र सूचना प्रविधि क्षेत्रका युवा उद्यमीलाई नयाँ अवसर दिने तथा सीमापार बैंकिङ र टेलिकम सेवा सहज बनाउने निर्णयले व्यापार, शिक्षा र पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास संघले लिएको छ।
भ्रमणका उपलब्धिहरू सकारात्मक रहे पनि स्वदेशी उद्योगी–व्यवसायीले भोगिरहेका गम्भीर समस्याहरूमा तत्काल ध्यान दिन संघले सरकारसमक्ष अपिल समेत गरेको छ। नेपालको निर्यातलाई प्रत्यक्ष असर पारिरहेको बीआईएस प्रमाणीकरणको समस्या समाधान गरी नेपालमा उत्पादित वस्तुको प्रमाणीकरण बीआईएस सरह नेपालमै हुनुपर्ने र त्यसलाई भारतले मान्यता दिनुपर्ने माग संघले अघि सारेको छ। त्यस्तै, जुट उद्योगमा लगाइएको एन्टीडम्पिङ तथा काउन्टरभेलिङ शुल्कले उद्योग र हजारौँ कामदारको रोजगारी अन्योलमा पारेकाले त्यसको तत्काल समाधान गर्न, प्रसारण लाइन तथा जलविद्युत् सहमतिसँगै जीटुजी र बीटुबी आधारमा नेपालको सरप्लस विद्युत् खरिद गर्ने व्यवस्था स्पष्ट पार्न तथा क्रिकेटको पूर्वाधार विकास, खेलाडी प्रशिक्षण र घरेलु लिग सहकार्यसम्बन्धी सहमतिलाई छिटो कार्यान्वयनमा ल्याउन संघले अनुरोध गरेको छ।
अध्यक्ष साहले भारत भ्रमणका क्रममा भएका सहमतिहरूलाई कागजमा मात्र सीमित नराखी शीघ्र कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गर्दै औद्योगिक तथा व्यापारिक अवरोधहरू फुकाउन सरकारसँग सहकार्य गर्न संघ सदैव तत्पर रहेको बताउनुभयो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडा, वाणिज्य उपाध्यक्ष विकास कुमार बेगवानी, उद्योग उपाध्यक्ष संजय कुमार श्रेष्ठ, कोषाध्यक्ष विनित सिंघानिया, प्रवक्ता सुशिल सुराना, कार्यसमिति सदस्यहरू, महिला उद्यम समिति संयोजक तथा सदस्यहरू, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठक लगायत सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।



