देशको पहिलो बैंक ९०औँ वर्षमा : विश्वास र रूपान्तरणका ९ दशक
काठमाडौं । नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले स्थापनाको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले सोमबारदेखि आफ्नो संस्थागत यात्राको ९०औँ वर्ष सुरु गरेको हो।
नेपाल बैंकको स्थापना नेपालको औपचारिक बैंकिङ इतिहासको महत्वपूर्ण सुरुवात मानिन्छ। बैंक स्थापना हुनुअघि नेपालमा वित्तीय कारोबार मुख्यतः निजी साहुकार, व्यापारी तथा व्यापारिक केन्द्रमार्फत हुने गरेको थियो। सर्वसाधारणमा बैंकिङ प्रणालीप्रतिको विश्वास र बचत गर्ने संस्कृतिको विकाससमेत भइसकेको थिएन।
तत्कालीन राजा त्रिभुवनबाट उद्घाटन गरिएको नेपाल बैंक तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराको सहयोगी दृष्टिकोणमा सरकार र सर्वसाधारणको संयुक्त लगानीमा स्थापना भएको थियो। नेपाल बैंकको आधिकारिक विवरणअनुसार वि.सं. १९९४ कात्तिक ३० अर्थात् सन् १९३७ नोभेम्बर १५ मा नेपाल बैंक ऐन, १९३७ अन्तर्गत यसको स्थापना भएको थियो।
स्थापनाका बेला बैंकको अधिकृत पुँजी १ करोड रुपैयाँ, जारी पुँजी २५ लाख रुपैयाँ र चुक्ता पुँजी ८ लाख ४२ हजार रुपैयाँ थियो। सुरुमा बैंकमा १० जना सेयरधनी र १२ जना कर्मचारी थिए। पहिलो वर्ष बैंकले १७ लाख २ हजार २५ रुपैयाँ निक्षेप संकलन गरेको थियो भने कर्जा प्रवाह तथा बक्यौता रकम १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो।
अत्यन्त सीमित पुँजी र स्रोतसाधनबाट सुरु भएको बैंकले नेपालको औपचारिक वित्तीय प्रणाली विकासमा महत्वपूर्ण आधार तयार गरेको थियो। नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपाल बैंकले देशको केन्द्रीय बैंकसमेतको भूमिका निर्वाह गरेको थियो। बैंकले सुरुका वर्षमा मौद्रिक तथा वित्तीय कारोबार व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेको थियो। वि.सं. २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी मुद्रा निष्कासन गर्दा पनि नेपाल बैंकले भूमिका निर्वाह गरेको थियो।
नेपाल राष्ट्र बैंक स्थापना भएपछि केन्द्रीय बैंकको जिम्मेवारी अलग भए पनि नेपाल बैंकले वाणिज्य बैंकका रूपमा आफ्नो सेवा जारी राख्यो। बैंकको आधिकारिक इतिहासअनुसार यसले नेपालको वित्तीय क्षेत्रको विकासमा योगदान दिँदै नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकजस्ता संस्थाको स्थापनाको आधार तयार पार्नसमेत अप्रत्यक्ष भूमिका खेलेको थियो।
नेपाल बैंकको यात्रा सधैँ सहज भने रहेन। बैंकको आफ्नै विवरणले वि.सं. २०४६ देखि २०५८ सम्मको अवधिलाई संकटपूर्ण समयका रूपमा उल्लेख गरेको छ। उक्त अवधिमा निरन्तर घाटा, कमजोर पुँजी अवस्था, निष्क्रिय कर्जा वृद्धि र व्यवस्थापकीय समस्याका कारण बैंकको अस्तित्वमाथि नै प्रश्न उठेको थियो।
वि.सं. २०५८ मा नेपाल राष्ट्र बैंकले वित्तीय सुधार कार्यक्रमअन्तर्गत बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लियो। त्यसपछि पहिलो चरणमा पाँच वर्षका लागि स्कटल्यान्डको आईसीसी कन्सल्टिङ व्यवस्थापन टोलीलाई जिम्मेवारी दिइयो। दोस्रो चरणमा नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन सम्हालेर बैंकको वित्तीय अवस्था सुधार गर्ने काम अघि बढायो।
पुँजी पर्याप्तता, आन्तरिक नियन्त्रण, सूचना प्रविधि, खराब कर्जा असुली तथा कर्मचारी व्यवस्थापनमा सुधार गर्दै बैंकलाई पुनः प्रतिस्पर्धी बजारमा फर्काउने प्रयास गरिएको थियो। वि.सं. २०७१ चैतमा खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि बैंकको व्यवस्थापन पुनः आफ्नै संस्थागत संरचनामा फर्किएको थियो।
पछिल्लो समय बैंकले प्रविधिमैत्री बैंकिङ, डिजिटल ग्राहक सेवा, जोखिम व्यवस्थापन र सञ्चालन दक्षतालाई प्राथमिकतामा राखेको छ। बैंकको आधिकारिक रणनीतिमा मोबाइल तथा डिजिटल बैंकिङ विस्तार, ग्राहक सेवाको गुणस्तर सुधार र दिगो व्यावसायिक वृद्धि प्रमुख विषयका रूपमा समेटिएका छन्।
९०औँ वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहक, शेयरधनी, नेपाल सरकार, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यस वर्ष बैंकले ‘अनवरत विश्वासको ९०औँ वर्ष’ भन्ने नारासहित आफ्नो वार्षिकोत्सव मनाइरहेको छ।




