धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पहिलोपटक ‘केक मिक्सिङ’
काठमाडौँ । धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टले पहिलोपटक ‘केक मिक्सिङ समारोह’ आयोजना गर्दै क्रिसमस तथा नयाँ वर्षको स्वागत गरेको छ ।
रिसोर्टले आइतबार आयोजना गरेको समारोहमा कर्पोरेट तथा ट्राभल क्षेत्रका प्रतिनिधि, पर्यटन संघसंस्थाका पदाधिकारी सहभागी थिए । सो अवसरमा सहभागीले रिसोर्टका सेफहरूसँग मिलेर ड्राइफ्रुट्स, नट्स तथा अन्य विशेष सामग्री मिसाउँदै क्रिसमसका लागि विशेष केक तयार गर्ने परम्पराको सुरुवात गरेका थिए ।
क्रिसमसभन्दा अगाडि गरिने केक मिक्सिङलाई समृद्धि, प्रचुरता र बाँडेर खाने भावनाको प्रतीकका रूपमा लिने गरिने रिसोर्टले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । रिसोर्टका कर्मचारीहरू पनि सहभागी कार्यक्रममा रिसोर्टले यस कार्यक्रमलाई आफ्नो आतिथ्य सत्कारको न्यानोपन र टिम भावनाको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रममा रिसोर्टको विशेष पहिचानका रूपमा रहेको वेलनेस तथा स्पा सेवासमेत समेटिएको थियो । सहभागी पाहुनाहरूले रिसोर्टको आरामदायी वेलनेस थेरापीको अनुभव लिएको जनाइएको छ । रिसोर्टले यसलाई समग्र स्वास्थ्य र स्वस्थ जीवनशैलीप्रतिको आफ्नो प्रतिबद्धताको अभिव्यक्तिका रूपमा व्याख्या गरेको छ ।
रिसोर्टका महाप्रबन्धक अंकित शर्माले पहिलो केक मिक्सिङ समारोह साझेदार तथा पाहुनाहरूसँग मनाउन पाउँदा खुसी लागेको बताए । उनले चाडपर्वको रमाइलोभन्दा पनि यस्तो भेटघाट अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने र विभिन्न क्षेत्रका मानिसलाई एउटै ठाउँमा जोड्ने अवसर भएको उल्लेख गरे ।
शर्माले यस कार्यक्रमलाई वार्षिक क्यालेन्डरकै रूपमा निरन्तरता दिने योजना रहेको बताउँदै पाहुना तथा साझेदारहरूले हरेक वर्ष यसको प्रतीक्षा गर्ने वातावरण बनाउने लक्ष्य रहेको जानकारी दिए ।
थाइल्यान्डको आतिथ्य समूह दुसित इन्टरनेसनलसँग आबद्ध दुसित थानी हिमालयन रिसोर्ट काठमाडौं उपत्यकाबाट करिब ३० किलोमिटर पूर्वमा धुलिखेलमा अवस्थित छ । हिमाली दृश्य, सूर्योदय र शान्त वातावरणका लागि परिचित धुलिखेल सप्ताहान्त घुमफिर, पारिवारिक बिदा तथा कर्पोरेट कार्यक्रमका लागि लोकप्रिय गन्तव्यका रूपमा रहेको छ ।
नजिकैको नमोबुद्ध र ऐतिहासिक पनौती बजारले समेत यस क्षेत्रमा आउने पर्यटकलाई थप आकर्षण प्रदान गर्दै आएका छन् । चाडपर्वको मौसमलाई लक्षित गर्दै रिसोर्टले यस्ता कार्यक्रममार्फत धुलिखेललाई उत्सव मनाउने र पर्यटन अनुभव लिने गन्तव्यका रूपमा प्रवर्द्धन गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ ।




