विराटनगरमा सुरु भयो पुरुष प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिता, पहिलो पल्ट ९ जिल्लाको सहभागिता
विराटनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेश स्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ । कोशी प्रदेशका ९ जिल्लाको सहभागिता रहेको छनोट प्रतियोगिता विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउण्डमा सुरु भएको हो ।
कार्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म चल्ने छनोट प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा धनकुटालाई ९ विकेटले पराजित गर्दै मोरङ जिल्लाले जित हात पारेको छ । २० ओवरको खेलमा ४६ रनको टार्गेट पाएको मोरङले छैटौँ ओवरमा ५१ रन जोड्दै जित हात पारेको थियो ।
मोरङको जितमा क्रितिक कामतले अविजित रहेर २३ रन जोड्दा सकिब हकले अविजित रही १८ रनको योगदान गर्नु भएको थियो ।
छनोट प्रतियोगिताको दोस्रो खेलमा २५३ रनको विशाल टार्गेट प्राप्त गरेको पाँचथर ६० रनमा समेटि्दा झापा १९३ रनले विजयी बनेको थियो । झापाका लागि भुपाल दंगालले अविजित ९१ रन जोड्दा, अंकित सुवेदीले ७७ र रविन्द्र यादवले ५३ रन प्रहार गर्नु भएको थियो ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना जारी छनोट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल सुनसरी र खोटाङ र दोस्रो खेल इलाम र ताप्लेजुङ्गबिच हुने बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनु भयो । घोषले कोशी प्रदेशका ५ जिल्लालाई नेपाल क्रिकेट संघले मान्यता दिए पनि छनोट प्रतियोगितामा भने ९ जिल्लाको सहभागिता रहेको बताउनु भयो ।
उहाँका अनुसार ९ प्रदेश स्तरीय प्रतियोगितामा पहिलो पटक प्रदेशको ९ जिल्लाको सहभागिता रहेको हो ।
कोशी प्रदेशको मोरङ, झापा, सुनसरी,इलाम र उदयपुर क्रिकेट संघद्वारा मान्यता प्राप्त जिल्ला हुन् ।
छनोट प्रतियोगिताबाट १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूको चयन गर्ने बोर्डको तयारी रहेको छ।




