वित्तीय बजारमा तरलता सन्तुलन कायम गर्न १० अर्ब रुपैयाँ पठाउदै राष्ट्र बैंक |
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले माघ १६ गते बुधबार वित्त बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको हो। केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।
केन्द्रीय बैंकले ७ दिनमा माघ २३ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार अपराह्न ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बैंक तथा वित्तीय संस्थाहरुले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन्। साढे चार प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्ध गरिनेछ ।
वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यसअघि पनि गत माघ ७ गते एक साताका लागि २० अर्बको रिपो जारी गरेको थियो ।
उक्त रिपो माघ १४ गते परिपक्व भएपछि पुनस् बैंकिङ्ग प्रणलीमा तरलता अभाव देखिएका कारण फेरी १० अर्बको रिपो जारी गर्न लागेको हो ।


