डिजिटल बैंकिङलाई अझ सुरक्षित र भरपर्दो बनाउन राष्ट्र बैंकको जोड
काठमाडौं । प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई
प्रदर्शन गर्ने उद्देश्यका साथ ‘एनआरबी फिन्टेक इनोभेशन शोकेस इभेन्ट २०२६’ आज काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो । बालुवाटारस्थित बैंक परिसरमा आयोजित कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त इभेन्टको उद्घाटन गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
नवप्रवर्तनमा आधारित नियामकीय र सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको जानकारी समेत उनले दिए । फिन्टेकको विस्तारसँगै यसबाट सिर्जित चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको धारणा गभर्नर पौडेलले राखे ।
उनले भने, ‘एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्फ वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ ।’
फिन्टेक नवप्रवर्तनको प्रवद्र्धन र विकासका निम्ति नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
सो अवसरमा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेकको प्रवद्र्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे चर्चा गरे । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिए ।
कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिन्टेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
यस इभेन्ट अन्तर्गत वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ वटा स्टलहरू प्रदर्शनीमा राखिएको थियो । डिजिटल बैंकिब, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिब, वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन (रेग्टेक) सेवामा ती संस्था/कम्पनीबाट भएका नवप्रवर्तनलाई उक्त प्रदर्शनीमा समेटिएको थियो ।
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी लगायतका संस्थाका एक हजारभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।
उक्त कार्यक्रमकै सिलसिलामा विषयक प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो । फिन्टेक अलायन्स नेपालका तर्फबाट मनोज घिमिरेले उक्त छलफलको सहजीकरण गरे भने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र अलायन्सका अध्यक्ष अमित अग्रवाल प्यानलिस्टको भूमिकामा सहभागी भएका थिए ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘Fintech Strategy for Digital Financial Services (2026/27-2030/31) अन्तर्गत फिन्टेक इकोसिस्टमका नवप्रवर्तक र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखिएको छ ।
सोही रणनीतिअन्तर्गत नै बैंकले Digital Finance Innovation Hub (DiFi-Hub) / Regulatory Sandbox लाई प्रभावकारी बनाउन’NRB Fintech Nexus’ संयन्त्रसमेत तयार गरेको छ । यसैअन्तर्गत आजको ‘Fintech Innovation Showcase’ आयोजना गरिएको हो भने भविष्यमा Fintech Workshop, Hackathons / Innovation Challenges जस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ ।




