नेपाल बैंकको नाफा ४१% ले बढ्यो, वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोड पुग्यो
काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ५.०७ प्रतिशतले बढेको छ। असोज मसान्तसम्म बैंकले ३ अर्ब १३ करोड ६२ लाख ५२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ८.५० प्रतिशतले बढेर ९९ करोड ४९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ९१ करोड ७१ लाख २० हजार रुपैयाँ रहेको थियो ।
वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोडमाथि
नेपाल बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ करोड १ लाख ९२ हजार रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर २ अर्ब ७५ करोड २८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५६ करोड ९५ लाख ९० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३.०८ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ५ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
खराब कर्जा घट्यो, ईपीएसमा सुधार बैंकको सम्पत्तिको गुणस्तरमा समेत सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.६१ प्रतिशतमा झरेको छ ।
त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १ पैसाबाट बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि बढेर २९२ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
निक्षेप र कर्जा दुवैमा वृद्धि समीक्षा अवधिमा नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। बैंकको कुल निक्षेप संकलन ४.५६ प्रतिशतले बढेर ४ खर्ब ३४ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल कर्जा प्रवाह २.६६ प्रतिशतले वृद्धि भएर २ खर्ब ५० अर्ब ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
समग्रमा खुद नाफा, सञ्चालन आम्दानी, सञ्चालन मुनाफा र प्रतिसेयर आम्दानीमा भएको वृद्धिले नेपाल बैंकको वित्तीय अवस्थामा सुधार आएको देखिएको छ । विशेषगरी वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थाबाट उल्लेख्य रूपमा धनात्मक हुनुले बैंकका लागि सकारात्मक संकेत गरेको छ ।




