मंसिरको पहिलो साताभित्र कमला पुल सञ्चालनमा ल्याउने लक्ष्य, निर्माण कार्य तीव्र
सिरहा/धनुषा । धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
भौतिक तथा पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार पुलका बाँकी तीन स्प्यानमध्ये पहिलो स्प्यानको स्ल्याब ढलान कार्य सम्पन्न भएको छ। बाँकी दुई स्प्यानको स्ल्याब कास्टिङको काम आगामी पाँच दिनभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ।
त्यसैगरी, नदी नियन्त्रणका लागि समेत निरन्तर काम भइरहेको मन्त्री लम्सालले जानकारी दिएका छन्। निर्माण कार्यलाई तीव्रता दिँदै मंसिरको पहिलो साताभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनको भनाइ छ।
करिब १५ वर्षदेखि अलपत्र तथा रुग्ण अवस्थामा रहेको कमला पुल आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउनु सरकारको प्राथमिकतामा रहेको मन्त्री लम्सालले बताएका छन्।
पुल सञ्चालनमा आएपछि धनुषा र सिरहासहित मधेश प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई आवागमनमा सहजता पुग्ने तथा स्थानीय व्यापार, यातायात र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




