ब्राजिलमा लुलाको ऐतिहासिक पुनरागमन, चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका छन् । यससँगै लुलाले ऐतिहासिक चौथो कार्यकालका लागि सत्ता सम्हाल्ने भएका छन् ।
करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा ८० वर्षीय वामपन्थी नेता लुलाले ५१.७५ प्रतिशत मत प्राप्त गरेका छन् । उनका ४५ वर्षीय प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले ४८.२५ प्रतिशत मत पाएका छन् ।
अक्टोबरको सुरुवातमा भएको पहिलो चरणको निर्वाचनमा बोल्सोनारोभन्दा पछि परेपछि लुलाको राजनीतिक भविष्यबारे आशङ्का उत्पन्न भएको थियो । यसले प्रगतिशील विचारधारा राख्ने ब्राजिलियन नागरिकलाई निराश बनाएको थियो । सन् १९८० को दशकमा ब्राजिलमा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेका उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो घटना भएको बताइएको छ ।
तर, आइतबारको निर्वाचनमा लुलाले अप्रत्याशित पुनरागमन गर्दै जित निकालेपछि साओ पाउलोका सडकदेखि मतगणना हेरिरहेका समर्थकसम्म उत्सवको माहोल देखिएको थियो ।
लुलाका निकट सहयोगी रेजिनाल्डो लोपेसले नतिजा पुष्टि भएपछि गार्जियनसँग भने, ‘म अविश्वसनीय रूपमा खुसी छु । ब्राजिलले विश्वलाई अतिवादी दक्षिणपन्थी विचारधारा फासिवादी भएको र यसले अश्वेत समुदाय, गरिब, राज्य तथा समलिङ्गी समुदायको विरोध गर्ने सन्देश दिएको छ । अब हामी देशका लोकतान्त्रिक शक्तिलाई पुनः सङ्गठित गर्नेछौँ ।’
तीन साताअघि २२ लाख मतान्तरले पराजित भएका लुलाले यसपटक ४३ लाख मतान्तरले विजय हासिल गरेका छन् ।
लुलाले आफ्नो पक्षमा मतदातालाई मतदान केन्द्रसम्म ल्याउन सफल भएपछि मतान्तर उल्ट्याउन सकेको उनका सहयोगीहरूको विश्लेषण छ । पहिलो चरणमा मतदान नगर्ने मतदाताको दर कीर्तिमानी २१.०८ प्रतिशत पुगेको थियो । मतदान केन्द्र टाढा रहेका क्षेत्रमा बसोबास गर्ने लुलाका समर्थक बढी प्रभावित भएकाले उनलाई क्षति पुगेको थियो । तर, दोस्रो चरणमा मतदान नगर्ने दर घटेर १९.२१ प्रतिशतमा झरेको छ ।
मङ्गलबार ८१ वर्ष पुग्न लागेका लुलाको यो जितले उनको लामो राजनीतिक जीवनमा अर्को महत्त्वपूर्ण अध्याय थपेको छ । सन् १९७० को दशकको अन्त्यतिर साओ पाउलोका औद्योगिक क्षेत्रमा मजदुर नेता बनेर उदाएका लुला ग्रामीण गरिबीमा जन्मिएका पूर्वकारखाना मजदुर हुन् ।
राजनीतिमा प्रवेश गरेपछि उनले सन् १९८९, १९९४ र १९९८ मा राष्ट्रपतिको निर्वाचन लडे पनि लगातार पराजय बेहोरेका थिए । अन्ततः सन् २००२ मा निर्वाचित हुँदै उनी ब्राजिलको इतिहासमा मजदुर वर्गबाट राष्ट्रपति बन्ने पहिलो नेता बने ।
संविधानले लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था गरेपछि उनी पदबाट बाहिरिएका थिए । तर, सन् २०२२ को निर्वाचनमा तत्कालीन राष्ट्रपति तथा फ्लाभियोका पिता जैर बोल्सोनारोलाई पराजित गर्दै पुनः सत्तामा फर्किएका थिए । त्यसपछि जैर बोल्सोनारो सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा जेल परेका थिए ।
लुलाको जितले २७ वर्षको जेल सजाय भोगिरहेका जैर बोल्सोनारोलाई थप राजनीतिक धक्का पुगेको छ । उनका छोरा फ्लाभियोले निर्वाचन जितेको भए जैरलाई रिहा गराउने र सरकारमा भूमिका दिलाउने अपेक्षा गरिएको थियो ।
लुलाको विजयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत निराश बनाएको छ । बोल्सोनारो परिवार ट्रम्पका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहयोगीमध्ये एक हो । ल्याटिन अमेरिकामा ट्रम्प समर्थक नेताहरूको प्रभाव विस्तार हुने अपेक्षाबीच ब्राजिलमा लुलाको जितले दक्षिणपन्थी शक्तिलाई धक्का दिएको छ ।
ब्राजिलको राजधानी ब्रासिलियामा भने लुलाको विजयपछि बोल्सोनारो समर्थकहरूमा आक्रोश र अन्योल देखिएको बताइएको छ । जैर बोल्सोनारो हाल त्यहीँ घरमै नजरबन्दमा छन् भने उनका छोरा फ्लाभियोले पनि त्यहीँबाट मतगणना हेरिरहेका थिए ।
निर्वाचनअघि लुलाका समर्थकहरूले शनिबार उनको पक्षमा विशाल प्रदर्शन गरेका थिए । रियो दि जेनेरियोको कोपाकाबाना समुद्री तटमा १० लाखभन्दा बढी मानिस भेला भएका थिए भने साओ पाउलोको प्रमुख क्षेत्र पाउलिस्टा एभिन्युमा त्योभन्दा पनि ठूलो सङ्ख्यामा मानिसले र्याली निकालेका थिए ।




