ललितपुरमा इटालियन स्वादको ‘नट्स एन्ड स्कुप’ जेलाटो ब्रान्डको उद्घाटन
काठमाडौँ । ललितपुरको सानेपामा इटालीयन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कुप’ सञ्चालनमा आएको छ ।
उक्त आउटलेटको नेपाल–इटली चेम्बर अफ कमर्स (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले प्रमुख अतिथिका रूपमा उद्घाटन गरे । मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित यस ब्रान्डले इटालियन परम्परागत सीप र स्वादलाई नेपाली बजारमा भित्र्याएको हो ।
यस ब्रान्डले व्यावसायिक जेलाटो उत्पादनका लागि आवश्यक इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ र इटलीस्थित जेलाटो विश्वविद्यालयबाट तालिमप्राप्त संस्थापकहरूको सीप प्रयोग गरी २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध गराएको छ । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस उद्यमशील कदमको प्रशंसा गरे ।
उनले नेपाल र इटलीबीच परम्परागत व्यापारभन्दा बाहिर पनि सहकार्यका सम्भावनाहरू विस्तार हुँदै गएको बताउँदै अन्तर्राष्ट्रिय सीप, विशेषज्ञता र नवप्रवर्तन भित्र्याउने व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
उद्घाटनकै दिन २०० भन्दा बढी ग्राहकहरूले आउटलेटको भ्रमण गरेको संस्थापकहरूले जानकारी दिएका छन् । सानेपाबाट सेवा सुरु गरेको ‘नट्स एन्ड स्कुप’ ले ग्राहकको प्रतिक्रिया र निरन्तर तालिममार्फत सेवालाई थप परिस्कृत बनाउँदै नेपालको प्रिमियम जेलाटो गन्तव्य बन्ने लक्ष्य राखेको छ ।
साथै, यस ब्रान्डले दुई देशबीचको सांस्कृतिक आदानप्रदान र आपसी सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।



