युवा नेतृत्व र विकासका लागि ‘द सर्कल अफ ईयू युथ अलुम्नाई’ को दोस्रो परामर्श बैठक सम्पन्न
काठमाडौं । नेपालमा रहेको द सर्कल अफ ईयू युथ अलुम्नाई (नेपाल) ले युरोपेली संघको सहयोगमा नयाँ बानेश्वरस्थित अल्फा हाउसमा दोस्रो ईयू युवा पूर्व अलुम्नाई भेटघाट तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ईयूबाट आर्थिक सहयोग प्राप्त कार्यक्रम तथा परियोजनाहरूमा सहभागी भएका १८ देखि ३० वर्ष उमेर समूहका ४० जना युवाहरूको सहभागिता रहेको थियो।
द सर्कलको कोर अलुम्नाई समूहद्वारा आयोजित उक्त भेटघाटले पूर्व अलुम्नाईहरूलाई आपसमा जोडिन, आफ्ना विचार तथा अनुभव आदानप्रदान गर्न र सञ्जालको भावी दिशा सामूहिक रूपमा तय गर्न मञ्च प्रदान गरेको थियो। हाल द सर्कलको कोर अलुम्नाई समूहमा सञ्जालमा आबद्ध पूर्वअलुम्नाईहरूमध्येबाट छनोट भएका १५ जना सदस्य रहेका छन्। सञ्जालका गतिविधिमा सक्रिय रूपमा योगदान गर्न इच्छुक अन्य पूर्व अलुम्नाईहरूलाई पनि यस समूहमा सहभागी हुन स्वागत गरिन्छ।
द सर्कल अफ ईयू युथ अलुम्नाई ईयूबाट सहयोग प्राप्त युवा कार्यक्रमहरूमा सहभागी भएका १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको विश्वव्यापी सञ्जाल हो। युरोपेली संघको युवा कार्ययोजना २०२२–२०२७ अन्तर्गत जनवरी २०२५ मा स्थापना गरिएको यस सञ्जालले विभिन्न क्षेत्रका युवाहरूलाई आपसमा जोड्ने काम गर्दछ। नेपाल यस सञ्जालको एसिया–प्रशान्त क्षेत्रअन्तर्गत पर्दछ।
कार्यक्रमको मुख्य अंशका रूपमा सञ्जालको भावी दिशा र प्राथमिकताहरू पहिचान गर्न संरचित परामर्श सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूलाई छ वटा समूहमा विभाजन गरी पहिचान तथा सम्बन्ध, सहभागिता, विकास तथा स्वामित्व, भविष्य, दिगोपना, तथा सहभागिता, इमानदारी र निरन्तरता गरी छ वटा विषयमा छलफल गर्न लगाइएको थियो। समूहगत छलफलपछि सहभागीहरूले सञ्जालले आगामी दिनमा प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने विचार तथा प्रस्तावहरूमा मतदान गरेका थिए।
द सर्कलको कोर अलुम्नाई समूहकी सदस्य आग्या श्रेष्ठले भन्नुभयो, “यस परामर्शबाट नयाँ र नवीन विचारहरू आएका छन्, जुन अत्यन्तै आशाजनक देखिन्छन्। आगामी दिनमा हाम्रो ध्यान प्रादेशिक तहमा सहभागिता विस्तार गर्नमा केन्द्रित हुनेछ।”
परामर्शका क्रममा उठेका विचार, चासो तथा प्राथमिकताहरूलाई समेटेर कोर अलुम्नाई समूहले एकीकृत प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदनले सञ्जालको भावी दिशा तय गर्न गरिने थप छलफललाई मार्गदर्शन गर्नुका साथै नेपालको देशीय कार्ययोजना निर्माणमा समेत योगदान पुर्याउनेछ।
द सर्कल अफ ईयू युथ अलुम्नाई (नेपाल) बारे
द सर्कल अफ ईयू युथ अलुम्नाई (नेपाल) ईयूबाट सहयोग प्राप्त कार्यक्रमहरूमा सहभागी भएका युवाहरूलाई आपसमा जोडिन, विचार आदानप्रदान गर्न, सहकार्य गर्न तथा युवाको नेतृत्वमा सञ्चालन हुने पहलहरूमा योगदान दिन अवसर प्रदान गर्ने मञ्च हो। निरन्तर सहभागिता र सामूहिक प्रयासमार्फत यस सञ्जालले पूर्व अलुम्नाईहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालभरका युवाहरूलाई साझा भविष्य निर्माणमा योगदान दिन अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।



