क्यान महासंघको संस्थागत अस्तित्व र वैधानिक पद्धतिमाथि गम्भीर हस्तक्षेपप्रति ध्यानाकर्षण
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) जस्तो सूचना प्रविधि क्षेत्रको साझा, वैधानिक र संस्थागत निकायलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउने तथा महासंघको विधान, निर्णय प्रक्रिया, संस्थागत मर्यादा र प्रशासनिक संरचनामाथि हस्तक्षेप गर्ने गतिविधिप्रति क्यान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
महासंघका महासचिव चन्द्र बिलास भुर्तेल र पूर्वअध्यक्ष नवराज कुँवरबाट महासंघको विधान तथा संस्थागत निर्णय प्रक्रियाविपरीत भएका गतिविधिले महासंघको नियमित कामकारबाही, आधिकारिक सञ्चार प्रणाली र संस्थागत स्वायत्ततामाथि गम्भीर असर परेको विषय स्पष्ट पार्न यो प्रेस विज्ञप्ति जारी गरिएको हो।
१. विधानविपरीत एकलौटी सिफारिस
क्यान महासंघको विधानअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा महासंघको प्रतिनिधित्व गर्ने वा प्रतिनिधि पठाउने अधिकार अध्यक्ष तथा केन्द्रीय कार्यसमितिमा निहित रहेको छ।
तर, केन्द्रीय कार्यसमितिको निर्णय तथा जानकारीबिना महासचिव चन्द्र बिलास भुर्तेलले पूर्वअध्यक्ष नवराज कुँवरको मिति २०८३ श्रावण १९ गतेको पत्रका आधारमा भाद्र २ गते महासंघको संस्थागत इमेल प्रयोग गरी ASOCIO को उपाध्यक्ष पदका लागि कुँवरको नाम सिफारिस गरेको विषय महासंघको जानकारीमा आएको छ।
संस्थाको वैधानिक निर्णय प्रक्रिया र कार्यसमितिको अधिकारलाई बेवास्ता गर्दै गरिएको यस्तो सिफारिसलाई महासंघले संस्थागत पद्धतिको गम्भीर उल्लङ्घनका रूपमा लिएको छ।
२. सचिवालय बन्द तथा आधिकारिक इमेलमा अनधिकृत नियन्त्रण
उक्त विषयमा भाद्र ४ गते बसेको पदाधिकारी बैठकमा प्रश्न उठेपछि पनि समस्या समाधानका लागि संस्थागत प्रक्रियालाई अघि बढाउनुको सट्टा भाद्र ५ गतेका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुने गरी सचिवालय बन्द गरिएको तथा महासंघको आधिकारिक इमेलको पासवर्ड परिवर्तन गरी त्यसमा एकलौटी नियन्त्रण कायम गरिएको विषय गम्भीर रूपमा उठेको छ।
त्यसैगरी, महासंघको आधिकारिक छाप, दर्ता तथा चलानी किताबसमेत आफ्नो नियन्त्रणमा राखिएको घटनाले संस्थाको नियमित प्रशासनिक तथा आधिकारिक कामकारबाहीमा अवरोध सिर्जना भएको छ।
क्यान महासंघ कुनै व्यक्तिको निजी सम्पत्ति वा व्यक्तिगत नियन्त्रणमा रहने संस्था नभई विधि, विधान र सामूहिक निर्णयबाट सञ्चालन हुने साझा संस्था हो। त्यसैले संस्थाको आधिकारिक स्रोत, दस्तावेज, सञ्चार प्रणाली तथा प्रशासनिक संरचनामा अनधिकृत नियन्त्रण कायम गर्ने कुनै पनि प्रयास स्वीकार्य हुन सक्दैन।
३. संस्थाको लेटरप्याड तथा छापको दुरुपयोग
महासंघको आधिकारिक निर्णय प्रक्रिया पूरा नभइसकेको अवस्थामा जाकार्ताबाटै महासंघको लेटरप्याड तथा छाप प्रयोग गरी विज्ञप्ति जारी गरिएको विषयसमेत महासंघको गम्भीर ध्यानाकर्षणमा आएको छ।
संस्थाको आधिकारिक लेटरप्याड, छाप तथा अन्य संस्थागत स्रोतको प्रयोग व्यक्तिगत वा अनधिकृत गतिविधिका लागि हुनु संस्थाको मर्यादा, विश्वसनीयता र आधिकारिकतामाथिको गम्भीर प्रश्न हो।
महासंघको नाम र आधिकारिक पहिचान प्रयोग गरी सदस्य तथा सरोकारवालाबीच भ्रम सिर्जना हुने कुनै पनि गतिविधिलाई महासंघले स्वीकार गर्ने छैन।
४. ASOCIO प्रतिनिधित्वबारे महासंघको आधिकारिक निर्णय
महासंघको आधिकारिक प्रतिनिधित्वसम्बन्धी विषयमा कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको अध्यक्षतामा बसेको विधिसम्मत बैठकले ASOCIO मा आधिकारिक प्रतिनिधि पठाउने निर्णय गरिसकेको स्पष्ट पार्न चाहन्छौँ।
महासंघको विधान, संस्थागत निर्णय र आधिकारिक प्रक्रियालाई बेवास्ता गरी गरिएको कुनै पनि प्रतिनिधित्वलाई महासंघको आधिकारिक प्रतिनिधित्वका रूपमा स्वीकार गरिने छैन।
संस्थागत प्रक्रिया पूरा नगरी ASOCIO को साधारण सभामा सहभागी हुने तथा उपाध्यक्ष पदमा निर्वाचित भएको दाबी गर्ने कार्यले महासंघको आधिकारिक निर्णय प्रक्रियालाई चुनौती दिएको हाम्रो ठहर छ।
५. कानुनी प्रक्रिया अघि बढाइएको छ
महासंघको आधिकारिक इमेल, लेटरप्याड, छाप तथा संस्थागत स्रोतको प्रयोगसँग सम्बन्धित घटनाक्रमका विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरो तथा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आधिकारिक उजुरी दर्ता भइसकेको जानकारी गराउँदछौँ।
महासंघको संस्थागत अस्तित्व, स्वायत्तता, सम्पत्ति, दस्तावेज, आधिकारिक सञ्चार प्रणाली र वैधानिक निर्णय प्रक्रियामाथि हुने कुनै पनि हस्तक्षेपका सम्बन्धमा प्रचलित कानुन तथा महासंघको विधानअनुसार आवश्यक कानुनी तथा संस्थागत कारबाही अगाडि बढाइनेछ।
६. महासंघका सदस्य तथा सरोकारवालालाई अपिल
क्यान महासंघको आधिकारिक निर्णय, सूचना तथा धारणा महासंघका वैधानिक निकाय र आधिकारिक सञ्चार माध्यमबाट मात्र सार्वजनिक हुने स्पष्ट पार्दै महासंघका सम्पूर्ण सदस्य, प्रदेश तथा जिल्ला शाखा, सम्बद्ध संस्था, सूचना प्रविधि क्षेत्रका सरोकारवाला तथा आम शुभेच्छुकलाई अनधिकृत तथा भ्रमपूर्ण प्रचार–प्रसारको पछि नलाग्न हार्दिक अपिल गर्दछौँ।
क्यान महासंघ कुनै व्यक्ति विशेषको स्वार्थ, नियन्त्रण वा व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने संस्था होइन। यो नेपालको सूचना प्रविधि क्षेत्रको साझा प्रतिनिधिमूलक संस्था हो।
महासंघको विधान, संस्थागत मर्यादा, सामूहिक निर्णय प्रणाली, स्वायत्तता र अस्तित्वको संरक्षणका लागि आवश्यक सबै कदम चाल्न क्यान महासंघ प्रतिबद्ध रहेको स्पष्ट पार्दछौँ।
क्यान महासंघलाई कमजोर बनाउने, संस्थागत संरचनालाई बन्धक बनाउने वा व्यक्तिगत स्वार्थअनुसार सञ्चालन गर्ने कुनै पनि प्रयासलाई संस्थागत रूपमा प्रतिरोध गरिनेछ।



