सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मिति २०८३ साल आश्विन १९ गते (तदनुसार अक्टोबर ०५, २०२६) सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ।
साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नुका साथै संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्तिलाई समेत अनुमोदन गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार तथा डिम्याट खाता लगायत पुँजी बजारसम्बन्धी विविध सेवा प्रदान गर्दै आइरहेको छ।
कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको समेत लगानी रहेको यस कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्।
कम्पनीले काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्ताहरूलाई पुँजी बजारमा सहज पहुँच पुर्याउन सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका देशभरका शाखा कार्यालयहरूमार्फत समेत आफ्ना सेवाहरू विस्तार गरेको जनाएको छ।
यस पहलले देशभरका लगानीकर्ताहरूलाई व्यवस्थित लगानी सेवामा जोड्दै दीर्घकालीन तथा अनुशासित लगानी संस्कारको विकास गर्न टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ।



