बाइक किन्न नसक्नेलाई राइड–हेलिङमार्फत स्वरोजगार, इनोहभ सर्भिसेसले फ्लीट ५०० पुर्याउँदै
इनोहभ सर्भिसेसद्वारा पहिलो वार्षिकोत्सव र दशैंको अवसरमा याङ्गो इनोहभ राइडरहरूलाई ०% पार्टनर शुल्क र आकर्षक उपहारको घोषणा, बाइक फ्लीट ५०० पुर्याइँदै
काठमाडौं । इनोहभ सर्भिसेस प्राइभेट लिमिटेडले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव र नेपालीहरूको महान् चाड बडादशैंको पावन अवसरमा आफ्ना सम्पूर्ण ‘याङ्गो इनोहभ राइडर’हरूका लागि विशेष अफरस्वरूप ०% (शून्य प्रतिशत) पार्टनर शुल्कको घोषणा गरेको छ।
यस अवसरमा आफ्नै सवारीसाधन खरिद गर्न नसक्ने व्यक्तिलाई राइड हेलिङ सेवामार्फत आम्दानीको अवसर उपलब्ध गराउँदै आएको इनोहभ सर्भिसेस प्रालिले आफ्नो बाइक फ्लीट विस्तार गर्ने भएको छ। याङ्गोको स्थानीय फ्लीट पार्टनरका रूपमा सञ्चालन भइरहेको इनोहभले हाल २५० भन्दा बढी बाइकमार्फत सेवा दिइरहेको र तिहारपछि फ्लीट संख्या ५०० पुर्याउने तयारी गरेको हो।
इनोहभ सर्भिसेसले करिब एक वर्षदेखि याङ्गोसँगको साझेदारीमा काठमाडौं उपत्यकामा राइड हेलिङ सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार हाल ५०० भन्दा बढी राइडर यससँग आबद्ध छन्। सेवा विस्तारसँगै आफ्नै बाइक वा कार नभएका व्यक्तिलाई समेत राइड–हेलिङ क्षेत्रमा आबद्ध गराउने कम्पनीको लक्ष्य छ।
सवारीसाधन नभएकालाई पनि काम गर्ने अवसर
इनोहभले विशेषगरी आफ्नै बाइक खरिद गर्न आर्थिक रूपमा सक्षम नभएका तर राइडिङमार्फत आम्दानी गर्न चाहने व्यक्तिलाई लक्षित गरेको छ। मोटरसाइकल लाइसेन्स र बाइक चलाउने अनुभव भएका व्यक्तिले कम्पनीसँग आबद्ध भएर काम गर्न सक्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार राइडर बन्न इच्छुक व्यक्तिले पहिले याङ्गोको प्लेटफर्ममा युजर अकाउन्ट खोल्नुपर्छ। त्यसपछि इनोहभ सर्भिसेसमा सम्पर्क गरी आवश्यक कागजात र अनबोर्डिङ प्रक्रिया पूरा गरेपछि कम्पनीले बाइक उपलब्ध गराउने छ।
यसका लागि राइडरले बाइक खरिद गर्न अग्रिम रकम तिर्नुपर्ने व्यवस्था नरहेको कम्पनीले जानकारी दिएको छ। लाइसेन्स, नागरिकता लगायत आवश्यक कागजात प्रस्तुत गरी कम्पनीसँग सम्झौता गरेपछि बाइक लिएर काम सुरु गर्न सकिने कम्पनीले जनाएको छ।
राइडरले कम्पनीसँगको सम्झौता र लागू हुने सर्तअनुसार तलब मोडल वा रेन्टल मोडलमध्ये उपयुक्त व्यवस्थामा काम गर्न सक्ने कम्पनीको भनाइ छ। कम्पनीले यस व्यवस्थालाई आफ्नै सवारीसाधन खरिद गर्न नसक्ने व्यक्तिलाई राइड–हेलिङ क्षेत्रमा प्रवेश गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।
कम्पनीका अनुसार राइड–हेलिङबाट आम्दानी गर्न चाहने तर बाइक खरिद गर्न नसक्ने व्यक्तिका लागि सवारीसाधन उपलब्ध गराउने यसको मुख्य उद्देश्य हो। लगानी गर्न नसक्ने राइडरले काम सुरु गर्न सक्ने अवधारणाअन्तर्गत सेवा सञ्चालन गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले केही निश्चित सर्त पूरा गर्ने राइडरलाई खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउने जनाएको छ। यद्यपि उक्त सुविधाका लागि लागू हुने आर्थिक तथा अन्य सर्तहरू कम्पनीले सार्वजनिक गरेको छैन।
बाइक एक्सचेन्ज कार्यक्रम आयोजना हुँदै
मोटरसाइकल तथा स्कुटर चालक (राइडर) लाई लक्षित गर्दै असोजको अन्तिम साता एक साताव्यापी ‘बाइक एक्सचेन्ज प्रोग्राम’ आयोजना हुने भएको छ।
कार्यक्रममा राइडरहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न सक्नेछन्। आयोजकका अनुसार मेलामा पुराना सवारीसाधनको उच्च मूल्याङ्कनसँगै नयाँ सवारी खरिदमा विशेष छुट तथा आकर्षक अफर उपलब्ध हुनेछ।
त्यस्तै, ग्राहकलाई सहज किस्ताबन्दी सुविधासमेत प्रदान गरिनेछ। कार्यक्रमको निश्चित मिति र स्थान भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
Yango राइडरका लागि विशेष फाइनान्सिङअन्तर्गत तीनवटा प्याकेज उपलब्ध हुनेछन्। पहिलो प्याकेजमा ४० प्रतिशत डाउनपेमेन्ट, ६० महिनाको कर्जा अवधि र ८.९९ प्रतिशत ब्याजदर तोकिएको छ।
दोस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्टसहित ६० महिनाको कर्जा अवधि र ६.९९ प्रतिशत ब्याजदर रहनेछ। यस्तै, तेस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्ट, २४ महिनाको कर्जा अवधि र ० प्रतिशत ब्याजदरको सुविधा उपलब्ध हुनेछ।
पुरानो सवारीसाधन साटेर नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने राइडरलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
दशैंमा शून्य प्रतिशत पार्टनर शुल्क
इनोहभ सर्भिसेसले आफ्नो पहिलो वार्षिकोत्सव तथा बडादशैंको अवसरमा याङ्गो इनोहभ राइडरका लागि शून्य प्रतिशत पार्टनर शुल्क लागू गरेको जनाएको छ। कम्पनीका अनुसार उक्त अवधिमा राइडरबाट पार्टनर शुल्क नलिइने भएकाले राइडरले आफ्नो कमाइको सम्पूर्ण रकम आफैं राख्न सक्नेछन्।
राइडरको कामलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले उत्कृष्ट तथा समर्पित राइडरलाई रेनकोट, पावर बैंक र मोबाइल होल्डरलगायत सामग्रीसमेत उपलब्ध गराएको थियो। कम्पनीका अनुसार यी सामग्रीले विभिन्न मौसममा राइडरलाई सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
याङ्गोको सञ्चालन मोडल अन्य केही राइड हेलिङ प्लेटफर्मको भन्दा फरक छ। याङ्गोले आफ्नै कर्मचारी र कार्यालयमार्फत मात्रै सेवा विस्तार गर्नुको सट्टा स्थानीय कम्पनीसँग साझेदारी गरेर विभिन्न क्षेत्रमा सेवा सञ्चालन गर्ने मोडल अपनाएको छ।
यसैक्रममा याङ्गोको ग्लोबल टिमलाई नेपाल ल्याएर कार्यक्रमसमेत आयोजना गरिएको कम्पनीले जनाएको छ। स्थानीय साझेदारका रूपमा इनोहभले राइड–हेलिङ सेवाका लागि आवश्यक सवारीसाधन तथा अन्य सुविधा उपलब्ध गराउँदै आएको छ।
बढ्दो बजार मागलाई ध्यानमा राख्दै इनोहभले हाल सञ्चालनमा रहेका २५० भन्दा बढी बाइकको फ्लीटलाई विस्तार गरी तिहारपछि ५०० पुर्याउने तयारी गरेको छ। कम्पनीका अनुसार फ्लीट विस्तारसँगै यात्रुलाई थप छिटो र सहज सेवा उपलब्ध गराउनुका साथै नयाँ राइडरलाई आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले काठमाडौं उपत्यकामा बाइक वा कारमार्फत आम्दानी गर्न चाहने व्यक्तिका लागि दर्ता प्रक्रिया निःशुल्क रहेको जनाएको छ। इच्छुक व्यक्ति नारायणगोपाल चोक, महाराजगञ्जस्थित कम्पनीको कार्यालयमा दैनिक बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सम्पर्क गर्न सक्ने वा ह्वाट्सएपमार्फत जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
इनोहभ सर्भिसेसले पहिलो वार्षिकोत्सवको अवसरमा यात्रु तथा राइडर दुवैलाई लक्षित गर्दै सेवा विस्तार र सुविधामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा नेपालको राइड सेयरिङ क्षेत्रमा थप परिष्कृत तथा नवीन सेवा विस्तार गर्ने कम्पनीको भनाइ छ।



