बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, , सुख्खायाममा कुल उपलब्धता २,३७३ मेगावाट पुर्याउने लक्ष्य
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उत्पादन, प्रसारण र वितरण संरचनामा पुगेको क्षतिको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।
प्राधिकरणका अनुसार बाढीका कारण कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि करिब १९० मेगावाट क्षमताका सातवटा जलविद्युत् केन्द्रको विद्युत् प्रसारण हुन सकेको छैन। प्रसारण लाइनको क्षति मर्मत गरी विद्युत् प्रवाह पुनःस्थापना गर्ने काम भइरहेको छ।
बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टेलरेस फ्लोरमा समेत क्षति पुगेकाले सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ। राहुघाट जलविद्युत् केन्द्रबाट ८० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, प्रणालीबाट बाहिर रहेका छवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको विवरणमा उल्लेख छ। सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध रहेका जलविद्युत् केन्द्रहरूको कुल क्षमता २६२ मेगावाट रहेको छ भने मस्र्याङ्दी करिडोरमा १९० मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्।
बाढीका कारण १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र समेत प्रभावित भएको छ। प्राधिकरणले क्षतिको अवस्था मूल्यांकन गर्दै क्रमशः आयोजनाहरू सञ्चालनमा ल्याउने जनाएको छ।
प्राधिकरणले आगामी आर्थिक वर्ष २०८३/८४ को सुख्खायाममा आन्तरिक उत्पादनबाट १,२१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गर्दै भारतबाट थप १,१५४.८ मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ।
प्राधिकरणले तयार गरेको सुख्खायाम विद्युत् व्यवस्थापन योजनाअनुसार पुसदेखि वैशाखसम्म आन्तरिक उत्पादनको उपलब्ध क्षमता कुल जडित क्षमताको करिब ३० प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। आन्तरिक उत्पादन र भारतबाट आयात हुने विद्युत् जोड्दा सुख्खायाममा कुल उपलब्ध क्षमता २,३७२.७७ मेगावाट पुर्याउने प्राधिकरणको योजना छ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को औसत राष्ट्रिय उच्चतम विद्युत् माग २,२९२ मेगावाट रहेको थियो। त्यसको तुलनामा आगामी सुख्खायाममा प्राधिकरणले प्रक्षेपण गरेको कुल उपलब्धता करिब ८१ मेगावाट बढी हुनेछ।
सुख्खायामको विद्युत् व्यवस्थापन
| विवरण | क्षमता |
|---|---|
| हाल सञ्चालनमा रहेको कुल जडित क्षमता | ३,७३९.४० मेगावाट |
| मंसिर २०८३ सम्म आउने थप आयोजना | ३२०.६० मेगावाट |
| मंसिरसम्म कुल जडित तथा आउने क्षमता | ४,०६० मेगावाट |
| सुख्खायाममा उपलब्ध आन्तरिक क्षमता (३०%) | १,२१८ मेगावाट |
| भारतबाट कुल आयात योजना | १,१५४.८० मेगावाट |
| सुख्खायाममा कुल उपलब्धता | २,३७२.७७ मेगावाट |
| २०८२/८३ को औसत राष्ट्रिय उच्चतम माग | २,२९२ मेगावाट |
भारतबाट कहाँबाट कति बिजुली ल्याउने?
आन्तरिक उत्पादनले मात्रै माग धान्न नसक्ने भएपछि प्राधिकरणले भारतबाट चारवटा माध्यममार्फत विद्युत् आयात गर्ने योजना बनाएको छ।
| आयातको स्रोत | योजना गरिएको क्षमता |
|---|---|
| ढल्केबर-मुजफ्फरपुर | ६००.८ मेगावाट |
| टनकपुर-महेन्द्रनगर | ५४ मेगावाट |
| बिहार-उत्तर प्रदेशका विभिन्न बिन्दु | ३५० मेगावाट |
| आरटीसीमार्फत | १५० मेगावाट |
| जम्मा | १,१५४.८ मेगावाट |
प्राधिकरणका अनुसार अप्रिल र मे २०२७ मा हुने विद्युत् आयात भने त्यतिबेलाको माग-आपूर्तिको अवस्थालाई हेरेर निर्णय गरिनेछ।



