भोटेकोशी बाढीपीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग
न्यूयोर्क । अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
न्यूह्यामसर नेपाली समाज (NHNC) को अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
समाजका अध्यक्ष लाक्पा शेर्पा नेतृत्वको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछिको विपद्मा सहयोग गर्ने नेपाली अमेरिकी समुदाय, विदेशमा बसोबास गर्ने नेपाली तथा नेपालप्रति सद्भाव राख्ने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले यस्तो सहयोगले सरकारको राहत तथा पुनर्स्थापना अभियानमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै सहयोग रकम जिम्मेवार र उचित ढंगले परिचालन गरिने विश्वास दिलाए।
समाजका अध्यक्ष लाक्पा शेर्पाले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, परिवार, व्यवसाय, संघसंस्था तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै बाढीपीडित परिवारले यथाशीघ्र राहत र पुनर्स्थापनाको अवसर पाउनुपर्नेमा जोड दिए।
समाजका उपाध्यक्ष माधव गुरुङले संस्थागत र समन्वयात्मक प्रयासमार्फत सहयोग संकलन गर्दा पीडितलाई आर्थिक सहयोग मात्र नभई समुदायको एकता र ऐक्यबद्धताको सशक्त सन्देश पनि पुग्ने विश्वासका साथ अभियान सुरु गरिएको बताए।
कार्यक्रममा परराष्ट्र सचिव अमृतकुमार राई, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, न्यूह्यामसर नेपाली समाजका महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई तथा गैरआवासीय नेपाली संघ, न्यूह्यामसर च्याप्टरका अध्यक्ष रोशन गुरुङलगायत अन्य समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
भोटेकोशी बाढीको विनाशकारी घटनालगत्तै न्यूह्यामसर नेपाली समाजले ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरी राहत तथा पुनर्स्थापनाका लागि सहयोग संकलन अभियान सुरु गरेको थियो।
यस अभियानअन्तर्गत न्यूह्यामसर दिदी बहिनी ग्रुपले हरितालिका तीज कार्यक्रमका लागि संकलन गरेको करिब १५ हजार अमेरिकी डलर बाढीपीडितको सहयोगका लागि प्रदान गरेको थियो। समूहले नेपालमा विपत्ति र शोकको अवस्था रहेकाले ऐक्यबद्धता जनाउँदै तीज कार्यक्रमसमेत स्थगित गरेको थियो।
राहत संकलन अभियानमा विभिन्न व्यवसाय, परिवार तथा सामुदायिक संघसंस्थाले उल्लेखनीय सहयोग गरेका थिए। समिट न्यू ह्यामसर एलएलसी, सनसाइन कम्युनिटी केयर इन्क, भिजन अफ इन्डिपेन्डेन्स एलएलसी, होम फर बटरफ्लाइज एलएलसी, हिमालयन फेमिली अफ न्यू ह्यामसर एवं गुरुङ समाज न्यू ह्यामसर लगायतका संस्था तथा समूहले अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए।
बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै न्यूह्यामसर नेपाली समाजले अक्टोबर १० का लागि तय गरिएको आफ्नो वार्षिक बडा दशैं उत्सव (दशैं साँझ) समेत रद्द गरेको छ।
यो राहत अभियानले विपद्को समयमा जन्मभूमिप्रति न्यूह्यामसरका नेपाली समुदायको एकता, उदारता, सहानुभूति र गहिरो सम्बन्धलाई पुनः उजागर गरेको छ।



