टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले १५० सीसी हाइपर स्पोर्ट स्कुटर सेग्मेन्टको नयाँ टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ। एनटर्क सिरिजअन्तर्गत सार्वजनिक गरिएको यो स्कुटर नेपालभरका आधिकारिक डिलरमार्फत बिक्रीका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
कम्पनीले यसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ ।
एनटर्क १५० मा १४९.७ सीसीको एयरकुल्ड ओ३सीटेक इन्जिन दिइएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा लिन सक्ने र यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ।
कम्पनीका अनुसार एनटर्क १५० को डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित छ। यसमा मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङ्गलेट, स्पोर्टी टेलल्याम्प, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार, सिग्नेचर मफलर तथा रंगीन अलोय ह्विल राखिएको छ। अगाडिको भागलाई एग्रेसिभ तथा एरोडाइनामिक डिजाइनमा तयार गरिएको छ भने जेट विमानबाट प्रेरित एयर भेन्ट र इन्टिग्रेटेड विङ्गलेटले स्पोर्टी लुकलाई थप आकर्षक बनाउने कम्पनीले जनाएको छ।
प्रविधितर्फ, एनटर्क १५० मा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन्। टर्न–बाइ–टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन, कल तथा म्यासेज नोटिफिकेसन र राइड मोडलगायतका सुविधा यसमा समावेश छन्।
सुरक्षाका लागि स्कुटरमा सिंगल च्यानल एबीएस र कम्पनीले सेग्मेन्टमै पहिलो दाबी गरेको ट्र्याक्सन कन्ट्रोल सिस्टम दिइएको छ। यसमा हाजार्ड ल्याम्प, फलो–मी हेडलाइट, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र एड्जस्टेबल ब्रेक लिभर पनि उपलब्ध छन्। त्यस्तै, पेटेन्ट गरिएको ई–जेड सेन्टर स्ट्यान्ड तथा २२ लिटरको अन्डर–सिट स्टोरेज रहेको छ।
एनटर्क १५० मा ‘रेस’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन्। कम्पनीका अनुसार स्ट्रिट मोडमा आईएसएस र रेस मोडमा बुस्ट फिचरका साथै आई–गो असिस्ट दिइएको छ।
टीभीएस एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ। यसको सुरुवाती मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।



