बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
काठमाडौं। असोज ८ गतेदेखि परेको निरन्तर हावाहुरी, भारी वर्षा र देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोका कारण सञ्चार सेवाहरू प्रभावित भएका छन्। नेपाल टेलिकमले प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण कम्पनीका कतिपय स्थानका सेवाहरू अवरुद्ध हुन पुगेको जनाएको छ।
भारी वर्षा र पहिरोले गर्दा यातायातमा पुगेको अवरोध, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत् आपूर्तिमा आएको व्यवधानका साथै हिमाली क्षेत्रमा परेको हिमपात र बादलका कारण सोलार साइटहरूले राम्रोसँग काम नगर्दा सेवा निरन्तरतामा कठिनाइ आएको कम्पनीले स्पष्ट पारेको छ।
प्राविधिक रूपमा सिस्टमबाटै सम्भव हुने मर्मतका कार्यहरू र पुग्न सकिने स्थानहरूमा तत्काल सेवा सुचारु गर्ने काम निरन्तर भइरहेको छ। मौसममा सुधार आउनासाथ प्रभावित कार्यस्थलमा खटिएर मर्मत कार्य सम्पन्न गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको कम्पनीले जानकारी दिएको छ।



