देशभर बदली र वर्षा जारी: आइतबारदेखि मौसममा सुधार आउने मौसमविद्को आकलन
काठमाडौँ। देशका अधिकांश भूभागमा केही दिनदेखि जारी झरी र बदली आइतबारदेखि क्रमिक रूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै स्थानीय वायुको समेत असर रहेकाले देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी तथा मध्य भूभागका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
लगातारको झरीका कारण देशभरको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले विशेषगरी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाएको छ भने तराईका नदी तथा खोलाहरूमा बहाव बढेको छ। महाशाखाले यात्रा गर्दा तथा नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबारदेखि भने मनसुनी प्रणाली कमजोर हुँदै जाने भएकाले मौसममा क्रमिक सुधार आउने पूर्वाभ्यास गरिएको छ। आइतबार पछि घाम लाग्ने र वर्षाको क्रम घट्दै जाने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।
आज गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने, लामोदूरीको यात्रा नगर्न सुझाव
मौसमविद उज्ज्वल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खासगरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रुपमा केन्द्रित हुने जनाएका छन् । कोशीतिर भने वर्षाको तीव्रता केही कम हुने उनको पूर्वानुमान छ ।
मौसमविदहरुले आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।
गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा भएको छ । कन्याममा ११४ मिलिमिटर वर्षा मापन भएको छ । इलामको जितपुरमा ९१ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी काभ्रेको रोशीमा ९७.८, पाल्पाको अर्चलेमा ९३.८, सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा भएको छ ।



