प्रकृति संरक्षणमा विशिष्ट एवं अनुकरणीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्न ‘प्रकृति पहरेदार पुरस्कार’ घोषणा, मनोनयन आह्वान
काठमाडौँ । प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले ग्रिनहुड नेपालले ‘प्रकृति पहरेदार पुरस्कार’ घोषणा गरेको छ।
प्रकृति संरक्षणका लागि समर्पित व्यक्ति तथा उनीहरूले गरेका योगदानलाई सार्वजनिक रूपमा चिनाउन यस पुरस्कारले सहयोग पुर्याउने हामीहरूको विश्वास छ। यस सम्मानमार्फत विशेष गरी जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक स्रोतको संरक्षणमा महत्त्वपूर्ण भूमिका रहेको व्यक्तिहरूलाई अनुकरणीय व्यक्तित्वका रूपमा धेरैमाझ चिनाउने गर्ने लक्ष्य राखिएको छ। खास गरी जैविक विविधता संरक्षण, वन्यजन्तु अपराध नियन्त्रण, संरक्षणसम्बन्धी सचेतना, खोज तथा अनुसन्धान लगायत प्रकृति संरक्षणका विभिन्न क्षेत्रमा सक्रिय रही प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई यस पुरस्कारका लागि २०८३ मङ्सिर २९ गतेसम्म उम्मेदवार सिफारिस गर्न सकिनेछ।
यस पुरस्कारका लागि कुनै औपचारिक योग्यता आवश्यक पर्ने छैन। जुनसुकै उमेर, पेसा वा पृष्ठभूमिका नेपाली नागरिक यस पुरस्कारका लागि उम्मेदवार बन्न सक्नेछन्। प्रकृति संरक्षणमा योगदान पुर्याइरहेका व्यक्ति सार्वजनिक रूपमा चर्चित वा कुनै विशेष क्षेत्रमा परिचित हुनै पर्ने भन्ने छैन ।
यस पुरस्कारका लागि आफैँलाई वा अरू कसैलाई मनोनयन गर्न सकिनेछ। उम्मेदवारका योगदान सार्वजनिक रूपमा पुष्टि गर्न सकिने वा उपलब्ध प्रमाणका आधारमा मूल्याङ्कन गर्न सकिने हुनुपर्नेछ। प्राप्त उम्मेदवारीहरूको मूल्याङ्कनका लागी विविध विधाका विज्ञहरू सम्मिलित एक स्वतन्त्र छनोट समिति रहने छ। उक्त समितिले उम्मेदवारको योगदान, समर्पण र प्रभावकारितालाई आधार मानेर पुरस्कारका लागि व्यक्ति छनोट गर्नेछ।
पुरस्कार प्रत्येक वर्ष एक व्यक्तिलाई यो पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त गर्ने व्यक्तिलाई सम्मानसहित नगद रु. १,००,००० (एक लाख नेपाली रुपैयाँ) प्रदान गरिनेछ। साथै, पुरस्कार प्राप्त गर्ने व्यक्तिको योगदानलाई सार्वजनिक रूपमा उजागर गरिनेछ ।
प्रकृति संरक्षण कुनै एक व्यक्ति, संस्था वा क्षेत्रको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो। यही भावनालाई आत्मसाथ गर्दै आफ्नो क्षेत्रबाट प्रकृति संरक्षणमा योगदान पुर्याइरहेका व्यक्तिहरूलाई पहिचान गरी उनीहरूको कामलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो ।
यस पुरस्कारको प्रवर्द्धक ग्रिनहुड नेपाल विज्ञानमा आधारित संरक्षण संस्था हो, जसले सङ्कटमा रहेका वन्यजन्तु र तिनीहरूको वासस्थान संरक्षणमा सहयोग गर्दछ।



