भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो।
सरकारले सिफारिस भएका व्यक्तिहरूलाई अब संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ सम्पन्न भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो स्वीकृतिका लागि प्रक्रिया अघि बढाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरेको छ।
त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शारू जोशी सिफारिस भएका छन्।
ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ।
प्रस्तावित राजदूतहरूको सूची
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — अमेरिका
४. गौरव शम्शेर जंगबहादुर राणा — यूके
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचल झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया



