दराज नेपालद्वारा बाढी प्रभावितका लागि सहयोग प्रदान
काठमाडौं । दराज नेपालले हालै आएको विनाशकारी बाढीबाट प्रभावित करिब ६ सय परिवारका लागि ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरको अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।
कम्पनीका अनुसार राहत सामग्री नेपाल सरकारसँगको समन्वयमा प्रभावित परिवारसम्म पुर्याइनेछ। प्रभावित समुदायको आवश्यकता पहिचान गरी आगामी चरणमा थप सहयोग गर्ने तयारीसमेत भइरहेको दराजले जनाएको छ।
उपलब्ध गराइएको राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया र बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने खाद्य सामग्री छन्। यी सामग्री प्रभावित परिवारसम्म पुर्याउन नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
दराजले तत्कालीन राहतका लागि खाना पकाउन र खाना वितरण गर्न आवश्यक भाँडाकुँडा तथा अन्य सामग्रीको आवश्यकता पनि पहिचान गरेको छ। स्थलगत आवश्यकता मूल्यांकन र सरकारसँगको समन्वयका आधारमा राहत सहयोगको आगामी चरणमा यस्ता सामग्री खरिद गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा भएको क्षतिले विभिन्न क्षेत्रमा लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत चुनौती थपिएको दराजले जनाएको छ। कम्पनीका टोलीले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग र सञ्चालन अवस्थाको निरन्तर निगरानी तथा मूल्यांकन गरिरहेका छन्।
ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी र साझेदारको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको दराजले जनाएको छ। अवस्था अनुकूल र सुरक्षित रहेका क्षेत्रमा लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाको काम भइरहेको छ। प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समय डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले जनाएको छ।
दराज नेपालले बाढी प्रभावित समुदायको उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक, आपत्कालीन उद्धारकर्मी तथा अन्य अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ।

कम्पनीले तत्कालीन राहत चरणपछि पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। तत्कालीन उद्धार तथा राहतका आवश्यकता सम्बोधन भएपछि सरकारसँगको समन्वयमा पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा समेत आफ्नो स्रोत र क्षमतामार्फत प्रभावकारी योगदान गर्ने सम्भावना पहिचान गरिने दराजले जनाएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक बेन यीले ठूलो संकटका बेला स्थानीय आवश्यकता बुझेर छिटो र अर्थपूर्ण सहयोग पुर्याउनु सबैभन्दा महत्वपूर्ण रहेको बताए। प्रभावित परिवार र समुदायलाई आवश्यक राहत उपलब्ध गराउन आफूहरू नेपाल सरकारसँग नजिकबाट समन्वय गरिरहेको उनले बताए।
उनले कम्पनीको जिम्मेवारी तत्कालीन आपत्कालीन अवस्थासँगै समाप्त नहुने बताए। प्रभावित समुदाय पुनःस्थापित हुँदै अगाडि बढ्ने क्रममा पनि दराज नेपाल उनीहरूको साथमा रहने उनले प्रतिबद्धता जनाए।


