पहिचान नभएका शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिने
काठमाडौँ । विनाशकारी रसुवा बाढीमा परी चितवन जिल्लाबाट सङ्कलन गरिएका कुल २३३ शवमध्ये पहिचान हुन नसकेका र बेवारिसे अवस्थामा रहेका २२९ वटा शवहरूलाई जमिनमुनि व्यवस्थापन गरिने भएको छ। हालसम्म ४ वटा शवको मात्र पहिचान भएको र बाँकी शव तथा शवका अवशेषहरू तीव्र रूपमा सड्दै गल्दै गएकाले स्वास्थ्य क्षेत्रका विज्ञहरूले सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका छन्।
सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन र दुर्गन्ध नियन्त्रण गर्न चितवन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवहरूको डिएनए नमुना सङ्कलन गरी संकेत नम्बरका आधारमा सुरक्षित अभिलेख राखिनेछ। यसरी डिएनए सुरक्षित गरेपछि ती शवहरूलाई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यस बाध्यात्मक निर्णयबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै शोकको घडीमा सबै पक्षबाट सहयोग, समन्वय र सकारात्मक सूचना सम्प्रेषणको अपेक्षा गरिएको छ।



