विपद्को यस घडीमा साथ दिऔँः विदेशबाट सहयोग पठाउन आइएमई मार्फत निःशुल्क सुविधा
काठमाडौं । प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।
विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत सिधै निशुल्क रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्नेछ।
नेपालभित्रबाट समेत खल्ती बाइ आइएमई मार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।
आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दै प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा राहत र पुनर्स्थापना प्रयासमा सरकारलाइ हरसम्भव सहयोग पुर्याउन सबैमा अपिल समेत गरेको छ।
साथै रसुवा जिल्लाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति आइएमई ग्रुप परिवारले गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ । साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।


