नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ वहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार बुधबार मन्त्रिपरिषदमा २ जनाको नाम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेका थिए । मन्त्रिपरिषदमा दीर्घ रावलसँगै डा.दिल्ली पोख्रेलको पनि नाम सिफारिस भएको थियो । उनले केहि हप्ता अघि मात्रै १८ जना निर्देशकहरुको अर्थ मन्त्रालयमा अन्तर्वार्ता लिएका थिए ।
रावल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधि शोधार्थी हुन् । उनले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
सन् २०१९ देखि २०२४ सम्म रावलले नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को प्रमुखका रूपमा काम गरेका थिए ।
दीर्घ बहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए ।
राष्ट्र बैंकमा २० वर्षको अनुभव हासिल गरेका रावलसँग वित्तीय क्षेत्रको नियमन, बैंकिङ सुपरिवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारण/आतंकवादमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) सम्बन्धी क्षेत्रमा विशेष दखल छ ।
लामो समयदेखि राष्ट्र बैंकभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी अब मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीको प्रमुख जिम्मेवारीमध्ये एक डेपुटी गभर्नर पदमा पुगेका हुन् ।
राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि डेपुटी गभर्नर रहेकी नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए । सरकारले यसअघि एक पदमा किरण पण्डितलाई नियुक्त गरेको थियो । रावलको नियुक्ति पछि अब राष्ट्र बैंक फूल कोर्ष डेपुटी बनेका छन् ।

