गण्डकी प्रदेशको १० लाख पर्यटक भित्र्याउने लक्ष्य |
पोखरा । २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबार सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पनि पोखराको लेकसाइडबाट भ्रमण वर्षको उद्घाटन गरेको छ । भ्रमण वर्षको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल हुने या नहुने भन्ने विषय गण्डकी प्रदेशको हातमा रहेको दाबी गरे । उनले नेपाल आउने बाह्य पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशमै आउने भएकाले त्यसले निर्णायक भूमिका खेल्ने दाबी गरेका हुन् ।
‘नेपाल सरकारले भनेको २० लाख पर्यटकमध्ये कम्तीमा ८ लाख गण्डकी प्रदेशमा आउँछन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘यदि पूर्वाधार बनाइएन भने, प्रदेश तथा स्थानीय तह, पर्यटन व्यवसायी लागेनन् भने काठमाडौंमा त भ्रमण वर्ष शुरु भयो तर, त्यो अपुरो हुन्छ । अधुरो हुन्छ ।’ उनले नेपाल आएका १० लाख पर्यटक भित्र्याउने गरी लाग्न सरोकारवालालाई आग्रह गरे ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश धार्मिक, साँस्कृतिक तथा प्राकृतिक रुपले सबैभन्दा धनी भएकाले पर्यटक गण्डकी प्रदेशमा आउने विश्वास राखे । ‘हाम्रो प्रदेशमा सर्वश्रेष्ठमा पनि सर्वश्रेष्ठ धेरै कुरा छन्, त्यसले पर्यटकलाई आकर्षित गर्छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा सबैभन्दा अग्लो ठाउँमा ताल, भञ्ज्याङ, गहिरो गल्छी सबै छ ।’



