प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै
काठमाडौं । प्लास्टिक सर्जरी अब सौन्दर्यप्रसाधनको क्षेत्रमा मात्र सीमित नरही दुर्घटना, आगलागी, क्यान्सर र जन्मजात समस्या भएका बिरामीको ज्यान बचाउने तथा शरीरको पुनर्निर्माण गर्ने प्रभावकारी उपचारका रूपमा विकसित भएको चिकित्सकहरूले बताएका छन्।
भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्लास्टिक सर्जरी, रोबोटिक शल्यक्रिया र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पछिल्लो प्रगतिबारे जानकारी दिँदै चिकित्सकहरूले यो कुरा स्पष्ट पारेका हुन्।
सम्मेलनमा अपोलो अस्पतालका प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. कुलदीप सिंहले पछिल्लो एक दशकमा प्लास्टिक सर्जरीको क्षेत्र नाटकीय रूपमा फराकिलो बनेको बताए। उनका अनुसार यो शल्यक्रिया अहिले गम्भीर रूपमा जलेका बिरामी, क्यान्सरपछिको पुनर्निर्माण, गम्भीर दुर्घटनापछि शरीरका अंगहरूको कार्यक्षमता पुनःस्थापना, र जन्मजात विकृतिहरूको उपचारमा अत्यन्त प्रभावकारी साबित भएको छ।
विशेषगरी शरीरको ६० देखि ७० प्रतिशतसम्म भाग जलेका बिरामीको उपचारमा समयको भूमिका निर्णायक हुने डा. सिंहले बताए। उनका अनुसार उपचारको प्रारम्भिक २४ देखि ३६ घण्टा अत्यन्तै महत्वपूर्ण हुन्छ, जहाँ मृत छाला (डेब्रीडमेन्ट) हटाउने प्रक्रिया, छाला बैंकबाट प्राप्त ‘डेडिकेटेड स्किन’ को प्रयोग र आधुनिक घाउ व्यवस्थापनले उनीहरूको जीवन बचाउन सहयोग पुर्याउँछ। उनले भने, “हामी पछिल्ला वर्षहरूमा यस्ता बिरामीको उपचारमा उल्लेखनीय सफलता हासिल गरेका छौं, विशेषगरी प्रारम्भिक चरणको उचित व्यवस्थापनले नतिजा निकै सुधारिएको छ।” त्यसले बिरामीको जीवन बचाउनुका साथै उनीहरूको शारीरिक क्षमता र जीवनस्तर पुनःस्थापित गर्न पनि मद्दत पुर्याउने उनको भनाइ छ।
त्यस्तै, जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. अरुण प्रसादले रोबोटिक शल्यक्रिया र एआईको भूमिकालाई प्रकाश पारे। उनका अनुसार रोबोटिक प्रणालीले उच्च क्षमताको त्रिआयामिक दृश्य, उपकरणको सूक्ष्म नियन्त्रण, र चिकित्सकका हातको चाललाई अत्यन्त परिष्कृत रूपमा प्रस्तुत गर्दै शल्यक्रियालाई अझ सटीक, न्यून चिरफार र छिटो पुनःस्थापना गर्न सहयोग गर्छ। साथै, एआई प्रविधिले रोग पहिचान र निदानलाई थप प्रभावकारी बनाएर चिकित्सकको निर्णय क्षमतालाई सघाउने उनले बताए। अपोलो अस्पतालले आफ्नो प्लास्टिक सर्जरी विभागमा सौन्दर्य शल्यक्रियासँगै क्रेनियोफेसियल, माइक्रोसर्जरी, हातको शल्यक्रिया र जलेका बिरामीको उपचारजस्ता विस्तृत सेवाहरू प्रदान गर्दै आएको छ।
अपोलोको प्रतिबद्धता र विश्वव्यापी उपस्थिति
अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपाल तथा दक्षिण एसियाली क्षेत्रका बिरामीहरूका लागि आधुनिक प्रविधिसहितको अन्तर्राष्ट्रियस्तरको उपचार सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
हाल अपोलो समूहअन्तर्गत ७६ अस्पताल, २० हजारभन्दा बढी शय्या, २,३८२ डायग्नोस्टिक केन्द्र र ७ सयभन्दा बढी टेलिमेडिसिन केन्द्रहरू सञ्चालनमा रहेका छन्। समूहले हालसम्म ३ लाखभन्दा बढी एन्जियोप्लास्टी र २ लाखभन्दा बढी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ। प्रविधि, उपकरण र उपचार विधिमा निरन्तर अनुसन्धान र लगानी गर्दै यसअघि उपचार असम्भव मानिएका अवस्थाका बिरामीलाई समेत नयाँ विकल्प उपलब्ध गराइरहेको चिकित्सकहरूले बताएका छन्।


