काठमाडौंमा आइतबार सात ठाउँबाट ग्यास वितरण हुने
भोलि आइतबार पनि काठमाडौंका सात स्थानबाट आयल निगम र जिल्ला प्रशाशन कार्यालय, काठमाडौंको समन्वयनमा ग्यास वितरण हुने भएको छ।
शनिबार दिनभर करिब ६ हजार सिलिन्डर वितरण गरेको र आपूर्ति सहज गर्न मद्दत मिलेको निष्कर्ष निकाल्दै भोलि सार्वजनिक बिदा भएकाले ग्यास वितरणलाई निरन्तरता दिने निर्णय भएको निगमले जनाएको छ।
शनिबार ग्यास बिक्री गरेको टेकु र कीर्तिपुरसहित अन्य पाँच स्थानबाट ग्यास बिक्री हुने भएको छ । निगमका अनुसार बुढानीलकण्ठको पशु सेवा शाखा कार्यालय (चपली), न्युरोडको जुडो हल परिसर, तारकेश्वर नगरपालिका कार्यालय, चन्द्रागिरि नगरपालिका कार्यालय र ठिमीको राष्ट्रिय श्रयरोग केन्द्रपरिसरबाट ग्यास वितरण हुने भएको छ।
टेकुबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर तथा कीर्तिपुरस्थित राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास वितरण हुनेछ। बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास वितरण हुने निगमले जनाएको छ। न्युरोडबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका कार्यालयबाट नेपाल र एचपी ग्यास वितरण हुनेछ।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीस्थित क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट, सुगम र एसटिसी ग्यास वितरण हुने निगमले जनाएको छ। शनिबार पाँच स्थानबाट करिब ६ हजार ग्यास सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।



