यसरी लाग्यो खण्डग्रास सूर्यग्रहण |
काठमाडौं । आज विहान खण्डग्रास सूर्यग्रहण लाग्यो । बिहीबार बिहान ८ बजेर ३८ मिनेटदेखि शुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहेको थियो ।
ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिएको थियो । पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखियो । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ ।
रिङ अफ फायर साउदी अरबबाट शुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भएको थियो ।
ग्रहणलाई कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट देखाउने व्यवस्था मिलाइएको थियो ।
यद्यपी टेलिस्कोप, दुर्विन, चस्मा, नाङ्गो आखाँबाट हेरे हानिकारक हुने समेत जनाइएको छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु नहुने बताइएको छ ।
त्यस्तै, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ ।
यो ग्रहण काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा शुरू भएर ११ बजेर ३३ मिनेटमा अन्त्य भएको थियो । त्यसैगरी, महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा शुरू भएर ११ बजेर १९ मिनेटमा तथा भद्रपुर झापाबाट ८ बजेर ४८ मिनेटमा शुरू हुन्छ भने ११ बजेर २७ मिनेटमा अन्त्य भएको छ ।
Visited 1 times, 1 visit(s) today


