सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप दैनिक गस्ती तथा उद्धार कार्य तीव्र गतिमा सञ्चालन
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप जोखिमपूर्ण अवस्थामा रहेका सडक बालबालिकाको खोजतलास, दैनिक गस्ती तथा उद्धार कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ।
मन्त्री सिता बादी पदबहालीपश्चात् मन्त्रालयले सडक बालबालिकाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै दैनिक गस्ती, उद्धार तथा पुनर्स्थापनासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाएको छ। यसक्रममा सडकमा जोखिमपूर्ण अवस्थामा रहेका, भीक्षा माग्न बाध्य भएका तथा जीविकोपार्जनका लागि पानी, मास्कलगायतका सामग्री बिक्री गर्न बाध्य बालबालिकाको नियमित पहिचान गरी उद्धार गर्ने, अस्थायी संरक्षण प्रदान गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने, अभिभावकलाई आवश्यक सचेतना प्रदान गर्ने तथा आवश्यकतानुसार पुनर्स्थापनाको प्रक्रिया अघि बढाउने कार्य निरन्तर सञ्चालनमा रहेको छ।
मन्त्री सिता बादीले प्रत्येक बालबालिकालाई सडकको जोखिमपूर्ण जीवनबाट मुक्त गरी सुरक्षित वातावरण, शिक्षा, संरक्षण र सम्मानपूर्ण भविष्य सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न मन्त्रालय दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ।


