फिफा विश्वकप २०२६ः फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो
काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भएको ऐतिहासिक र असाधारण महाभिडन्तमा इङ्गल्याण्ड विजयी भएको छ।
फ्लोरिडाको मियामी स्टेडियममा आइतबार बिहान भएको अत्यन्तै रोमाञ्चक र गोलको वर्षा भएको खेलमा इङ्गल्याण्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ।
विश्वकप इतिहासकै सबैभन्दा बढी रोमान्चक र धेरै गोल भएको खेलहरूमध्ये एक बनेको यस खेलमा इङ्गल्याण्डका स्टार विङ्गर बुकायो साकाले सानदार ह्याट्रिक गरे भने फ्रान्सका कप्तान किलियन एमबाप्पेको दुई गोल पनि टोलीलाई जिताउन पर्याप्त भएन।
खेल सुरु भएको तेस्रो मिनेटमै डिक्लन राइसको सानदार गोलबाट इङ्गल्याण्डले अग्रता लियो। १८औँ मिनेटमा एज्री कोन्साले दोस्रो गोल थपे। त्यसपछि बुकायो साकाको जादु सुरु भयो, जसले ३६औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गर्दै इङ्गल्याण्डलाई पहिलो हाफमै ४–० को विशाल अग्रता दिलाए।
४ गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। ४७औँ मिनेटमा किलियन एमबाप्पे र ५३औँ मिनेटमा वैकल्पिक खेलाडी ब्राडली बारकोलाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए। ६५औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को अत्यन्तै रोमाञ्चक मोडमा पुग्यो।
खेलको ८६औँ मिनेटमा इङ्गल्याण्डले पेनाल्टी पायो, जसमा बुकायो साकाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इङ्गल्याण्डलाई ५–३ को अग्रता दिलाए। ९० मिनेटपछिको इन्जुरी समयको पाँचौँ मिनेटमा फ्रान्सका ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई फेरि ५–४ मा पुर्याए। तर त्यसको दुई मिनेट लगतै इङ्गल्याण्डका सुपरस्टार जुड बेलिङ्घमले खेलको १०औँ गोल गर्दै इङ्गल्याण्डको ६–४ को ऐतिहासिक जित सुनिश्चित गरे।
गोल्डेन बुटको दौडमा एमबाप्पे शीर्ष स्थानमा
यस खेलमा दुई गोल गरेसँगै फ्रान्सका कप्तान किलियन एमबाप्पेको यस विश्वकप २०२६ मा कुल १० गोल पुगेको छ। उनी अर्जेन्टिनाका लियोनेल मेसी (८ गोल) लाई पछि पार्दै गोल्डेन बुटको शीर्ष स्थानमा उक्लिएका छन्। मेसीले भोलि बिहान हुने फाइनल खेल खेल्न बाँकी नै छ।


