धितोपत्र बजार सुधारका लागि बोर्डद्वारा नौ प्राथमिकताका क्षेत्र सार्वजनिक
काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि पुँजी बजार नीति सार्वजनिक गरेको छ।
बोर्डले आगामी आर्थिक वर्ष पुँजी बजार सुधारसँग सम्बन्धित नौ वटा प्राथमिकताका क्षेत्र सार्वजनिक गरेको छ।
बोर्डका अनुसार पूँजी बजारको संस्थागत सुदृढीकरण, प्रविधिमैत्री सेवा विस्तार, लगानीकर्ताको सहभागिता बढाउने तथा नियामकीय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्राथमिकता तय गरिएको हो।
धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वय सुदृढ गर्ने बोर्डको योजना छ । बजारलाई प्रभावित पार्ने उद्देश्यले हुने भ्रामक सूचना प्रवाह, अनधिकृत लगानी परामर्श, सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग तथा वित्तीय ठगी नियन्त्रणका लागि निगरानी प्रणाली मजबुत बनाइने जनाएको छ।
सार्वजनिक निष्कासन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन नीतिगत सुधार गरिने बोर्डले जनाएको छ। कम्पनीको वित्तीय अवस्था तथा व्यवस्थापकीय क्षमताको वस्तुनिष्ठ मुल्यांकनपछि मात्र निष्कासन अनुमति दिने व्यवस्था प्रभावकारी बनाइने उल्लेख छ।
त्यसैगरी, मार्जिन कारोबार प्रणालीलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र व्यवसायीबीच सहकार्य बढाउने योजना बोर्डले अघि सारेको छ।
बोर्डले सामूहिक लगानी कोषसम्बन्धी लकइन अवधि र धितोपत्र बाँडफाँट व्यवस्थाको पुनरावलोकन गर्ने जनाएको छ। साथै बजार कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्क संरचनाको समीक्षा गरिनेछ।
कारोबारयोग्य सेयरलाई आधार मानेर नयाँ सूचकांक विकास गरी त्यसलाई बजारको बेन्चमार्क सूचकका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ। हाल कायम नेप्से सूचकांकलाई भने अल इक्विटी इन्डेक्सका रूपमा निरन्तरता दिइने उल्लेख छ।
यसैगरी, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि संगठित संस्थाले गर्ने पूँजी संकलन गतिविधिलाई नियमनको दायरामा ल्याउने तयारी बोर्डले गरेको छ।


