सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ ।
उक्त सहयोग बैंकको बढैयाताल शाखा मार्फत गरिएको छ । वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् । विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला र JAWS सफ्टवेयर कम्प्युटर लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


