अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै स्पेन अन्तिम १६ मा
काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत नेपाली समयअनुसार हिजो राति सम्पन्न खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को सहज र एकतर्फी जित हासिल गरेको छ। लस एन्जलस स्टेडियममा भएको उक्त प्रतिस्पर्धामा स्पेनका लागि फरवार्ड माइकल ओयार्जाबालले दुई तथा डिफेन्डर पेड्रो पोरोले एक गोल गरे।
यो जितसँगै पूर्व विश्व विजेता स्पेनले प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) मा आफ्नो स्थान सुरक्षित गरेको छ।
खेलको सुरुवातमै भीएआरको एक निर्णयका कारण गोलबाट बञ्चित भएको स्पेनले ३६औँ मिनेटमा अग्रता लियो। उत्कृष्ट लयमा रहेका माइकल ओयार्जाबालले पेनाल्टी बक्स भित्रबाट प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा अस्ट्रियाले बराबरीका लागि केही प्रयास गरे पनि ६६औँ मिनेटमा स्पेनले आफ्नो अग्रता दोब्बर बनायो। डिफेन्डर पेड्रो पोरोले सानदार गोल गर्दै स्पेनलाई २–० को बलियो स्थितिमा पुर्याए।
खेल सकिन मात्र १ मिनेट बाँकी छँदा माइकल ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल थप्दै स्पेनको ३–० को जित पक्का गरे।
अस्ट्रियाका प्रशिक्षक राल्फ राङ्गनिकले दोस्रो हाफमा मार्को अर्नाउटोभिक र सासा कालाज्दिच जस्ता खेलाडीलाई मैदान प्रवेश गराए पनि स्पेनको बलियो रक्षापंक्ति र मिडफिल्ड नियन्त्रणलाई तोड्न सकेनन्।
स्पेनका गोलकिपर उनाई सिमोन र डिफेन्डर पाउ कुबार्सी सम्मिलित टोलीले यस खेलमा अस्ट्रियालाई गोल गर्ने कुनै पनि स्पष्ट अवसर दिएनन्। स्पेनले अब क्वाटरफाइनल प्रवेशका लागि अर्को चरणको खेल खेल्नेछ।


