नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत जीवन बीमा विधामा स्वर्ण (गोल्ड) अवार्ड प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले सोमबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेको कम्पनीले जनाएको छ।
सम्मान ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले उक्त उपलब्धि सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, संस्थागत सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप जिम्मेवार बनाएको उल्लेख गरे।
उहाँले कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा अन्य सबै सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी भइसकेका छन्। कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।
त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ।
नेपाल लाइफले ‘डबल ए माइनस (एए–)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको पनि जनाएको छ। कम्पनीका अनुसार हाल देशभरका ७७ जिल्लामा केन्द्रीय, प्रादेशिक, शाखा तथा उपशाखासहित १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, संस्थागत सुशासन र गुणस्तरीय सेवामार्फत बीमितको विश्वासलाई अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


