रास्वपाको फेरियो नीति– संवैधानिक समाजवादबाट अब सामाजिक लोकतन्त्र
प्रतिवेदनमा सभापति लामिछानेले ‘एकथरी आलोचक हुनुहुन्छ, जो कहिल्यै हाम्रा दस्तावेज नहेरी सधैँ भन्नुहुन्छ कि रास्वपासँग विचार छैन’ भन्ने उल्लेख गरेका छन् । ‘हो, हामी परम्परागत वामपन्थी वा दक्षिणपन्थी होइनौँ र जानीबुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित छैनौँ । कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यावहारिक, विवेकसम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौँ,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई सम्मान गर्ने तर तिनलाई व्यावहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्ने लामिछानेको प्रतिवेदनमा उल्लेख छ ।
‘निजीक्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धामा हामी कसैलाई दक्षिणपन्थी लागौँला । आधारभूत स्वास्थ्य सेवा र शिक्षा सबै नागरिकका लागि राज्यले सुनिश्चित गर्नुपर्छ भन्दा ‘वामपन्थी’ देखिऔँला । स्टार्टअप, निजी उद्यम र बजार स्वतन्त्रतालाई प्रोत्साहनले हामीलाई नदेखाएको वामपन्थी, श्रमिक अधिकार, न्यूनतम ज्याला र सामाजिक सुरक्षा ग्यारेन्टीले देखाऊला,’ प्रतिवेदनमा भनिएको छ, ‘हामी राज्य, समाज र अर्थतन्त्रलाई कुनै एकल वैचारिक ढाँचाबाट होइन, मिश्रित, सन्तुलित र परिस्थितिअनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्छ भन्ने मान्यता राख्छौँ । हामी आँखा जँचाएर चस्मा बनाउनुपर्छ भन्छौँ, चस्माअनुसारको आँखा होइन ।’


