एनबीआईको २०औं वार्षिकोत्सव सम्पन्न, स्मारिका विमोचन; जिम्मेवार व्यावसायिक आचरण नै समृद्धिको मार्ग
काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा ‘जिम्मेवार व्यावसायिक अभियानः एनबीआईको दुई दशक’ (The Responsible Business Movement: Celebrating Two Decades of NBI) शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ। ललितपुरस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा ‘The Responsible Business Movement: Two Decades of NBI’ स्मारिकाको समेत विमोचन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनबीआईका अध्यक्ष जोशीले राष्ट्र निर्माणका लागि अब कूटनीतिभन्दा इमानदारिता र नीतिमा आधारित प्रणाली आवश्यक रहेको बताए। उनले व्यवसायीहरूलाई विगतका प्रशासनिक जटिलता र त्रुटिपूर्ण राज्य प्रणालीका कारण नियम पालना गर्न कठिन भएको उल्लेख गर्दै नियतवश गरिएको गल्ती र प्रणालीगत बाध्यताबीच स्पष्ट भिन्नता छुट्याएर अनुसन्धान गर्न सरकारसँग आग्रह गरे।
कार्यक्रममा एनबीआईका संस्थापक अध्यक्ष पद्म ज्योतिले संस्थाको दुई दशकको यात्रा स्मरण गर्दै द्वन्द्वकालीन अवस्थामा निजी क्षेत्रले शान्ति स्थापना तथा दिगो व्यवसाय विकासमा खेलेको भूमिकाबारे चर्चा गरे। उनले व्यवसाय र समाज एकअर्काका परिपूरक रहेको उल्लेख गरे।
‘जिम्मेवार व्यावसायिक आचरण र नेपालको समृद्धिको मार्ग’ विषयमा आयोजित प्यानल छलफलमा पूर्वमन्त्री रामेश्वर खनाल, सांसद गणेश पराजुली, कर्पोरेट कानुनविद् प्रा. डा. गान्धी पण्डित तथा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सहभागी थिए। छलफलमा व्यावसायिक नेतृत्व, कानुनी तथा वित्तीय अनुपालन, सामाजिक उत्तरदायित्व, ESG सिद्धान्तको कार्यान्वयन तथा क्रोनी पूँजीवादको अन्त्यलाई दिगो आर्थिक विकासका प्रमुख आधारका रूपमा औंल्याइएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रमैत्री नीति, लगानी प्रवर्द्धन तथा सार्वजनिक–निजी साझेदारीलाई सुदृढ बनाउन महासंघले एनबीआईसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य संस्था, संस्थापक सदस्य तथा विकास साझेदार संस्थाहरूलाई सम्मान गरिएको थियो। समापन कार्यक्रममा एनबीआईका उपाध्यक्ष सुकुन्तलाल हिराचनले जिम्मेवार व्यावसायिक अभ्यास र सुशासनलाई संस्थागत संस्कारका रूपमा विकास गर्दै सरकारसँग सहकार्यलाई थप प्रभावकारी बनाइने बताए।
नेपालका प्रमुख निजी क्षेत्रका छाता संगठन तथा कर्पोरेट हाउसहरूको पहलमा स्थापित एनबीआई विगत दुई दशकदेखि शान्ति स्थापना, दिगो विकास, जिम्मेवार व्यावसायिक अभ्यास तथा संस्थागत सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सक्रिय रहँदै आएको गैरसरकारी संस्था हो।


