पशुपति क्षेत्रलाई सुशासन, आध्यात्मिक पुनर्जागरण र विश्वस्तरीय धार्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने पीठाधीश मुकुन्द शर्मा हुमागाईको विस्तृत प्रस्ताव
काठमाडौं । कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईले पशुपति क्षेत्र विकास कोषको वर्तमान संरचना, नेतृत्व प्रणाली तथा व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै यसलाई सुशासन, पारदर्शिता र आध्यात्मिक पुनर्जागरणको केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना सार्वजनिक गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लक्षित गर्दै उनले पशुपति क्षेत्र केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई राष्ट्रिय नैतिकता, सदाचार, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनका अनुसार वर्तमान व्यवस्थापन प्रणालीलाई सुधार नगरी यस पवित्र क्षेत्रको दीर्घकालीन संरक्षण र प्रभावकारी सञ्चालन सम्भव छैन ।
भ्रष्टाचारमुक्त संरचनाको आवश्यकता :
हुमागाईले विगतमा पशुपति क्षेत्र विकास कोषभित्र देखिएका भ्रष्टाचार, अनियमितता तथा विभिन्न आर्थिक विवादहरूले संस्थाको पवित्र छवि कमजोर पारेको उल्लेख गर्दै यस्तो अवस्थालाई अन्त्य गर्न स्पष्ट र कडा सुशासन प्रणाली आवश्यक रहेको बताएका छन् । उनका अनुसार धार्मिक संस्था राजनीतिक हस्तक्षेप र व्यक्तिगत स्वार्थबाट मुक्त हुनुपर्छ ।
उनले पशुपति क्षेत्रबाटै राष्ट्रिय सदाचार अभियान सञ्चालन गर्न सकिने उल्लेख गर्दै राज्यका उच्च पदाधिकारीहरूलाई पशुपतिनाथ परिसरमै राष्ट्रहित संकल्प तथा शपथ ग्रहण कार्यक्रममार्फत नैतिक जिम्मेवारी बोध गराउन सकिने धारणा राखेका छन् ।
नेतृत्वमा व्यक्तिगत प्रतिबद्धता :
हुमागाईले आफूले कोषको सदस्य–सचिव पदका लागि आवेदन दिएको जानकारी दिँदै योग्य अवसर पाए कुनै पनि प्रकारको सरकारी सुविधा, तलब, भत्ता वा सवारीसाधन नलिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार कोषबाट प्राप्त सम्पूर्ण भेटी तथा शिवस्व रकम धार्मिक, सामाजिक तथा परोपकारी कार्यमा मात्र प्रयोग गरिनेछ । यसलाई पूर्ण पारदर्शी प्रणालीमा राखिने र व्यक्तिगत लाभका लागि कहिल्यै प्रयोग नगरिने उनले स्पष्ट पारेका छन् ।
पूजा व्यवस्थापन र धार्मिक अनुशासन :
उनले पशुपति क्षेत्रभित्रका सम्पूर्ण मन्दिर, पीठ तथा देवस्थलहरूमा परम्परागत विधिअनुसार नित्य पूजा, पर्व पूजा तथा विशेष अनुष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन् ।
बासुकीनाथ, गुह्येश्वरी, भुवनेश्वरी, विश्वरूपा लगायत सम्पूर्ण देवस्थलहरूमा नियमित पूजा सुनिश्चित गर्ने, शिवलिङ्गहरूमा जल, पञ्चामृत तथा बेलपत्र अर्पणलाई निरन्तरता दिने तथा पूजा सामग्रीको शुद्धता परीक्षण प्रणाली लागू गर्ने उनको प्रस्ताव छ ।
त्यस्तै, बागमती नदीको पवित्रता कायम राख्न सुन्दरीजल तथा वाग्द्वारबाट शुद्ध जल आपूर्ति प्रणाली व्यवस्थित गर्ने तथा धार्मिक अनुष्ठानमा प्रयोग हुने दूध, दही, घिउ, मह र सखरको गुणस्तर सुनिश्चित गर्ने योजना समेत उनले अघि सारेका छन् ।
दर्शन व्यवस्थामा सुधार :
हुमागाईले पशुपति क्षेत्रमा दर्शन व्यवस्थालाई भेदभावरहित, व्यवस्थित र भक्तजनमैत्री बनाउनुपर्ने बताएका छन् । उनका अनुसार लाम व्यवस्थापन, नित्य दर्शन प्रणाली तथा परिचयपत्र प्रणाली लागू गरी भक्तजनलाई सम्मानजनक सेवा प्रदान गर्न सकिन्छ ।
उनले धार्मिक संघसंस्थाबाट मान्यताप्राप्त परिचयपत्र भएका भक्तजनलाई समान रूपमा दर्शन सुविधा दिइने तथा विदेशी भक्तजनका लागि शुद्धिकरण तथा परम्परागत विधि अनुसार दर्शन व्यवस्था मिलाइने प्रस्ताव समेत राखेका छन् ।
आर्थिक सुधार र पारदर्शिता :
उनका अनुसार पशुपति क्षेत्र विकास कोषलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु अत्यावश्यक छ । भेटी, दान तथा अन्य आर्थिक कारोबारलाई पूर्ण डिजिटल तथा पारदर्शी प्रणालीमा रूपान्तरण गरिने, अनियमितता नियन्त्रण गरिने तथा सम्पत्तिको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गरिने योजना प्रस्तुत गरिएको छ ।
भाडामा दिइएका धर्मशाला, पसल तथा अन्य संरचनाहरूलाई प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत व्यवस्थापन गरिने तथा अनधिकृत आर्थिक गतिविधिहरू पूर्ण रूपमा नियन्त्रण गरिने उनले बताएका छन् ।
सम्पदा संरक्षण र भौतिक पूर्वाधार विकास :
हुमागाईले पशुपति क्षेत्रभित्र रहेका जीर्ण अवस्थामा पुगेका मन्दिर, देवालय, धर्मशाला, पाटी तथा सत्तलहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । पुरातात्त्विक मापदण्डअनुसार संरचना संरक्षण गरिने तथा विश्व सम्पदा क्षेत्रको मापदण्डअनुसार विकास अघि बढाइने उनको प्रस्ताव छ ।
वनकाली धर्मशालालगायत बन्द अवस्थामा रहेका संरचनाहरू पुनः सञ्चालन गरिने तथा प्रयोगविहीन सम्पत्तिलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा उपयोग गरिने योजना समेत समावेश गरिएको छ ।
धार्मिक पर्यटन र अन्तर्राष्ट्रिय विस्तार :
उनले पशुपतिनाथलाई विश्व हिन्दू तीर्थ तथा धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताएका छन् । यसका लागि विश्वभरका हिन्दू समुदाय, गैरआवासीय नेपाली तथा धार्मिक संस्थाहरूसँग समन्वय गरिनेछ ।
अनलाइन पूजा, दर्शन तथा भेटी समर्पण प्रणालीलाई विस्तार गर्ने, विदेशमा पशुपति समन्वय समिति गठन गर्ने तथा नेपाललाई विश्व धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य उनले प्रस्तुत गरेका छन् ।
सामाजिक सेवा र धार्मिक परिचालन :
हुमागाईले पशुपति क्षेत्रलाई केवल पूजा स्थल मात्र नभई सामाजिक सेवा, मानवता र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।
धार्मिक संघसंस्था, मठमन्दिर तथा स्वयंसेवक समूहसँग सहकार्य गर्दै आरती, यज्ञ, भण्डारा, गौसेवा, योग, ध्यान, प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिने योजना उनले अघि सारेका छन् ।
विशेष योजना र दीर्घकालीन दृष्टि :
उनका अनुसार पशुपति क्षेत्रभित्र वेद विद्याश्रमको क्षमता विस्तार, निःशुल्क आवासीय शिक्षा प्रणाली, श्री पशुपति सनातन हिन्दू विश्वविद्यालय स्थापना, आयुर्वेद चिकित्सालय सञ्चालन तथा पशु संरक्षणका लागि पशु चिकित्सालय स्थापना गरिनेछ ।
त्यस्तै, गौशाला विस्तार, वानर, मृग, नन्दी तथा अन्य पशुहरूको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने योजना समेत समावेश गरिएको छ ।
अन्तिम आग्रह :
अन्त्यमा हुमागाईले यदि सक्षम, योग्य तथा राष्ट्रसेवामा समर्पित नेतृत्व कोषमा नआए आफूलाई अवसर दिन आग्रह गर्दै आफ्ना सम्पूर्ण संकल्प र प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
त्यस्तै उनले यदि सक्षम पात्र नपाए आफूलाई दिनुस् भन्दै आफ्ना संकल्प र प्रतिबद्धता समेत सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।


