तेजस्वी सहकारीद्वारा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विराटनगर । तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–५ त्रिमूर्ति चोकले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । सहकारीका सदस्य तथा बचतकर्तालाई लक्षित गरी आयोजित कार्यक्रममा बचत तथा सहकारीसम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा बचतकर्तालाई सहकारीमा सुरक्षित र प्रभावकारी रूपमा कारोबार कसरी गर्ने, बचत रकमको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । साथै वर्तमान सहकारी ऐन, नियम तथा कानुनका विषयमा समेत विस्तृत जानकारी गराइएको आयोजकले जनाएको छ ।
सहकारीका अध्यक्ष देवी प्रसाद चुडालले संस्थाको वर्तमान अवस्था र प्रगतिबारे जानकारी दिँदै सहकारीमा हाल ७१८ जना शेयर सदस्य रहेको तथा कुल बचत रकम ९ करोड ५६ लाख रुपैयाँ पुगेको बताउनुभयो । उहाँले सदस्यको विश्वास र सहभागिताका कारण संस्था निरन्तर सुदृढ बन्दै गएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक मणीराज प्रसाईं र सहकारीका सल्लाहकार केदार कार्कीले सहकारीको पारदर्शिता, उत्तरदायित्व तथा सदस्यको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा गोमा सापकोटा र टंक प्रसाद गौत्तमले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकहरूले सहकारीमा सदस्यहरूको सक्रिय सहभागिता, नियमित बचत र वित्तीय अनुशासनले व्यक्तिगत तथा सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीसम्बन्धी जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले त्यसको समाधानसमेत गरेका थिए ।


