स्मार्ट सेल प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार उनलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा सरकारी स्वामित्वसँग जोडिएको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्न भूमिका खेलेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार स्मार्ट सेलसँग सम्बन्धित कारोबार र स्वामित्व हस्तान्तरण प्रक्रियामा पाण्डेको संलग्नता देखिएपछि पक्राउ गरिएको हो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
यसअघि यही प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परिसकेका छन् ।
स्मार्ट सेल प्रकरणमा राज्यको स्वामित्व र राजस्वसँग जोडिएका विषयमा अनियमितता भएको आशंकामा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ ।


