नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा मनिषलाल प्रधानको स्वभाविक दाबी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न चुनाबमा अञ्जन श्रेष्ठ समूहका उद्योगी व्यवसायीहरु जितेर आएपछि निर्वाचित कार्यकारिणी समितिले चयन गर्ने एकमात्र कोषाध्यक्ष पदमा यस समूहका कोर टिमका मनिषलाल प्रधानले आफ्नो दाबी पेश गरेका छन् ।
यस समूहका ८०।८५ प्रतिशत जति उम्मेद्वारहरुले विजय हासिल गरेपछि कोषाध्यक्षमा प्रधानको स्वाभाविक दाबी रहने कोर टिमका एक पदाधिकारीले बताएका छन् । अर्को पक्षले उम्मेद्वार नै नउठाउने भएकोले उनको जीत सुनिश्चित रहेको पनि ती पदाधिकारीले बताएका छन्
पुख्र्यौली रुपमै उद्यमी व्यवसायीको पृष्ठभूमिबाट आएकोले पनि उनलाई सबैले सहजै स्वीकार्ने गर्छन । उनका पिता महेशलाल प्रधान दुई पटक महासंघको अध्यक्ष भएर शक्तिशाली नेतृत्व दिएको देख्ने र भोग्ने उद्यमी व्यवसायीहरु छोरा प्रधानमा नयाँ संस्करणको उही पुरानै नेतृत्वको गर्जनको अपेक्षा राख्छन् ।
पञ्चायतको जगजगी भएको त्यसबेला पनि महेशलाल प्रधानले बोलेपछि सरकारी नीति निर्मातादेखि कर्मचारीहरु पनि थर्कमान हुन्थे । तुलिप होटलमा आयोजित नयाँ पदाधिकारीहरुको शपथग्रहण समारोहमा पूर्व अध्यक्ष तथा पूर्व मन्त्री समेत रहेका ८७ वर्षीय महेशलाल प्रधानले त्यही जोशमा कुर्लिए र अञ्जनलाई सुझाव दिए, महासंघको गर्जन र आवाज कस्तो हुनुपर्छ भनेर उदाहरणीय नेतृत्व प्रदान देउ, इतिहासले तिमीलाई सँधै सम्झिनेछ ।
ललितपुर औद्योगिक क्षेत्रमा प्रधानको ५२ वर्ष पुरानो कपडा उद्योग रहेको छ । यही उद्योगमा काम गर्दै २४ घण्टा चेम्बर आन्दोलन र निजीक्षेत्रको प्रवद्र्धनका बारेमा चर्चा हुने पारिवारिक पृष्ठभूमिमा हुर्किएका छोरा मनिषलाललाई नजिकबाट चिन्नेहरु टिप्पणी गर्छन्, उनको नशा नशामा चेम्बर आन्दोलनको जोश, जाँगर र उर्जा रक्त सञ्चार हुने गर्छ जस्तो लाग्छ हामीलाई ।
विसं २०५५ सालदेखि नै पिताकै पथमा लम्किएका मनिषलाल प्रधान ललितपुर उद्योग वाणिज्य महासंघको प्रथम उपाध्यक्ष हुँदै महासंघमा पनि बस्तुगत संघबाट पनि एकपटक र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट दुई पटक निर्वाचित भै नेतृत्व प्रदान गरेका छन् भने महासंघमा निर्यात प्रवद्र्धन समितिको सभापति भै काम गरेको अनुभव पनि हासिल गरेका छन् ।
हिरा तथा जवाहरतको व्यवसायमा रमाइरहेका उनी जेम्स एण्ड ज्वेलरी संघका पूर्व अध्यक्ष पनि हुन् । व्यवसायिक काम र चेम्बर आन्दोलनको संयुक्त नेतृत्वदायी अनुभवले खारिएका मनिषलाल पहिला नै महासंघको उपाध्यक्ष भैसक्नुपर्ने युवा उद्यमी हुन् र अहिले उनलाई नयाँ कार्यकारिणीले सहानुभूतिपूर्वक हेर्ने गर्छन ।
काम गरेर देखाउन अञ्जनको नेतृत्वलाई अवसर र चुनौती दुवै रहेको बेलामा जुन ढंगले टिम जितेर आएको छ, त्यसले ठूलो रुपान्तरण गर्नुपर्ने खाँचो भएकोले पनि उनको कोर टिमका मनिष कोषाध्यक्षका स्वाभाविक आकांक्षी बनेका छन् । वर्षौदेखि अञ्जन समूहको टिम निर्माण र रणनीतिमा क्रियाशील उनी नयाँ अध्यक्षको प्रथम छनौटका लोकप्रिय उम्मेद्वार पनि हुन् ।


