शैक्षिक उपलब्धिका सात विश्व कीर्तिमानसहित आशिष बने ‘विश्व नम्बर वान’
काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्दै एकैसाथ सात वटा विश्व कीर्तिमान कायम गरेका छन्।
अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका बिष्टलाई लन्डनस्थित वर्ल्ड बुक अफ रेकर्ड्स ले स्नातकोत्तर तथा व्यावसायिक शैक्षिक उपलब्धिहरूका आधारमा सात विश्व कीर्तिमानसहित आधिकारिक मान्यता प्रदान गरेको हो। यस उपलब्धिसँगै उनी विश्वमै सबैभन्दा बढी शैक्षिक सम्मान प्राप्त व्यक्तिहरूमध्ये एक बनेका छन्।
उनका उपलब्धिहरू यस्ता छन्ः
६ वर्ष ६ महिनामै चार देशबाट पाँच एडभान्स डिग्री
४० महिनामै चार एडभान्स डिग्री
१ वर्ष ६ महिनामै दुई फरक क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधिसहित तीन एडभान्स डिग्री
१७ महिनामा एकसाथ विद्यावारिधि र स्नातकोत्तर पूरा
बिष्टका कीर्तिमानहरू व्यावसायिक दक्षता, बहुविषयगत अध्ययन क्षमता तथा द्रुत गतिमा शैक्षिक योग्यता हासिल गर्ने उपलब्धिहरूसँग सम्बन्धित रहेका छन्।
उनले विश्वकै सबैभन्दा सम्मानित चार्टर्ड एकाउन्टेन्टमध्ये एक हुनुका साथै अत्यधिक शैक्षिक योग्यता हासिल गरेका ज्योतिषविद्को रूपमा समेत मान्यता पाएका छन्।
उनको शैक्षिक यात्रा नेपाल, भारत, बेलायत र अष्ट्रेलियासम्म फैलिएको छ। औपचारिक शिक्षाबाट १० वर्ष टाढा रहेपछि उनले पुनः अध्ययन सुरु गरी दुई वर्षभन्दा केही बढी समयमा एसीसीए पूरा गरे र त्यसपछि धेरै उच्च डिग्री हासिल गरे।
आशिष बिष्ट भन्छन्, ‘एक दशकपछि पुनः अध्ययनमा फर्किन सजिलो थिएन। तर मेहनतमा केन्द्रित भए परिणाम आफैं आउँछ भन्ने मलाई विश्वास थियो।’ उनको यो उपलब्धिलाई शैक्षिक क्षेत्रमा प्रेरणादायी तथा ऐतिहासिक सफलता मानिएको छ।
स्नातकोत्तर र व्यावसायिक तहमा हासिल गरेका उनका सात कीर्तिमानले यसअघि माध्यमिक तहमा अभिलेखित शैक्षिक विश्व कीर्तिमानहरूको संख्यालाई समेत पछि पारेको छ।
हाल बिष्ट रिसर्चर र एजुकेटरका रूपमा कार्यरत छन्। शिक्षा, फाइनान्स र ज्योतिषसम्बन्धी विषयमा उनी अन्तर्राष्ट्रिय दर्शकसँग सामाजिक सञ्जालमार्फत पनि जोडिएका छन्।
बिष्टको कीर्तिमानबारे विश्वका विभिन्न सञ्चारमाध्यमहरुले स्थान दिँदै समाचार प्रकाशित गरेका छन्।



